अदानचुली। प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईमार्गमार्फत ढुवानी गरेर मतपत्रसहित अन्य निर्वाचन सामग्री पठाएको जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले जानकारी दिएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट मतपत्रसहित अन्य निर्वाचन सामग्री शनिबार हुम्ला आइपुगेको हो । सेनाको हेलिकोप्टरबाट १० प्रकारका सामग्री हुम्ला ल्याइएको छ । निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकोप्टरको खर्च पठाइसकिएको तथा आवश्यकताका आधारमा आयोगले थप काम गर्दै जाने तयारी गरिएको छ ।
तीन हजार मिटरभन्दा माथिका क्षेत्रमा लेक लाग्ने अवस्थालाई मध्यनजर गरेर औषधि खरिदका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बजेट पठाइएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा निर्वाचनपूर्व र निर्वाचनपश्चात् मतदान केन्द्रमा खटाइने कर्मचारीको आवतजावत सुनिश्चित गर्न सुरक्षा प्रमुखहरूले अनुरोध गरेका थिए, सोहीअनुसार व्यवस्था गर्ने विषयमा आयोगसँग समन्वय गरिएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिएका छन् ।
निर्वाचनमा जिल्लामा ३४ हजार ३७२ मतदाता, ६० मतदानस्थल र ६४ मतदान केन्द्र रहेका छन् । मतपत्रसहित अन्य सामग्री बुझ्ने कार्यक्रममा मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बराल, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक पुष्करसिंह ऐर, अनुसन्धान प्रमुख मेघराज कँडेल, आचारसंहिता अनुगमन समिति अधिकृत राजेन्द्र चन्द र अङ्गबहादुर कार्की, जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायालगायतको उपस्थिति रहेको थियो ।
निर्वाचनका लागि ३६९ कर्मचारी परिचालन
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा ३६९ कर्मचारी परिचालन गरेको छ । जिल्लाका १५ मतदान केन्द्रका लागि पाँच–पाँच कर्मचारी गरी ७५ जना र अन्य ४९ मतदान केन्द्रमा छ–छ कर्मचारी गरी २९४ कर्मचारी परिचालन गरिएको छ ।
जिल्लाका ६४ मतदान केन्द्रमध्ये ३०० भन्दा कम मतदाता भएका केन्द्रमा पाँच–पाँच जना र सोभन्दा धेरै मतदाता भएका केन्द्रमा छ–छ जना कर्मचारी खटाइएको छ । यसमा दुई मतदान अधिकृत र दुई सहायक मतदान अधिकृतलाई जगेडामा राखिएको छ, आवश्यक परेमा उनीहरूलाई पठाउने व्यवस्था गरिएको छ ।
अदालतका श्रेस्तेदार तथा सहायक मतदान अधिकृत श्रीदीप वाग्लेको संयोजकत्वमा तीन जनालाई प्रशासनिक कामको जिम्मेवारी दिइएको छ । जिल्ला अदालतका नासु छत्तबहादुर बोगटीलाई प्रशासनिक काम र लेखापाल श्यामप्रसाद सापकोटालाई लेखा तथा भुक्तानी व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
जिल्लाका ६४ मतदान केन्द्रमा ६४ मतदान अधिकृत, ६४ सहायक मतदान अधिकृत, १७५ सहायक कर्मचारी र ६४ सहयोगी कर्मचारी परिचालन गरिएको छ ।































प्रतिक्रिया