बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल अलपत्र

बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल अलपत्र

केन्द्रबिन्दु
42
Shares

गलेश्वर। शिरानमा भिरालो जग्गामा रहेको दोबागाउँको पुछारमा पहेँलो रङको पक्की भवन देखिन्छ । आकर्षक देखिने उक्त भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो ।

विसं २०७८ मा निर्माण सम्पन्न भएको भवन बाहिरबाट राम्रो देखिए पनि भित्र प्रयोगविहीन अवस्थामा छ । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको अस्पतालमा आवश्यक उपकरण र चिकित्सकको व्यवस्था हुन सकेको छैन । करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको भवन हाल अलपत्र अवस्थामा छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको दोबागाउँमा अस्पताल भवनबाट गाउँ पुग्न गाडीमा १५–२० मिनेट लाग्छ । गाउँदेखि टाढा र अपायक स्थानमा रहेको उक्त अस्पतालमा राम्रो सडक र व्यवस्थित बस्तीको अभाव छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने नीतिअनुसार स्थानीयवासीले जग्गा उपलब्ध गराएर निर्माण गरिएको अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

बजेट अभाव र जनशक्ति व्यवस्थापन हुन नसक्दा अस्पताल सञ्चालनमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीपकुमार गर्बुजाले जानकारी दिएका छन् । चार वर्षअघि निर्माण सम्पन्न भएको पाँच शय्या क्षमताको अस्पतालमा उपकरण र चिकित्सकसहितको जनशक्ति व्यवस्थापन हुन नसक्दा भवन प्रयोगविहीन भएको छ ।

बाह्र रोपनी सात आना दुई दाम क्षेत्रफलमा निर्माण गरिएको अस्पताल रविना–अमित जेभीले रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा निर्माण गरेको हो । अस्पताल निर्माणका लागि स्थानीय सात जनाले १२ रोपनी सात आनाभन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

अस्पतालमा अपाङ्गमैत्री संरचना, आकस्मिक कक्ष, अन्तरङ्ग र बहिरङ्ग सेवा कक्ष, प्रयोगशाला, प्रशासनिक कक्ष, औषधि भण्डार, उपचार कक्ष तथा स्वास्थ्यकर्मी निवाससहित ३५ कोठा रहेका छन् । अस्पताल सञ्चालनमा नआउँदा सामान्य बिरामी पर्दा पनि उपचारका लागि बेनी जानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

पाँच शय्या क्षमताको भूकम्पप्रतिरोधी अस्पताल भवन निर्माण भए पनि प्रदेश र सङ्घीय सरकारबाट आवश्यक स्रोत र जनशक्ति व्यवस्थापन हुन नसक्दा अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

Logo