भेरीगङ्गा। कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगरकी देवी पाठक न्यून दृष्टिविहीन हुन्। उनको जन्म विसं २०६१ मङ्सिर २९ गते डोटीको आदर्श गाउँपालिकामा भएको हो। जन्म डोटीमा भए पनि परिवारको आर्थिक अवस्था कमजोर भएपछि बसाइँसराइ गरेर कैलाली आएपछि उनको बाल्यकाल जमुनानगरमै बित्यो।
जन्मदेखि नै दृष्टिसम्बन्धी अपाङ्गता भएकी देवीको बाल्यकाल सहज थिएन। घरको कमजोर आर्थिक अवस्था र समाजको अपहेलनाका बीच उनले गाउँकै दुर्गा भवानी माध्यमिक विद्यालयबाट पढाइ सुरु गरिन्। कठिनाइका बाबजुद उनी कक्षामा सधैँ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका रूपमा चिनिन्थिन्।
पढाइ रोक्न दबाब
कक्षा ८ को परीक्षा चलिरहँदा उनलाई घरपरिवार र गाउँसमाजबाट पढाइ रोक्न दबाब आयो। आर्थिक अवस्था कमजोर हुनु र दृष्टिविहीन भएकाले “पढेर के हुन्छ र?” भन्ने प्रश्न बारम्बार उठाइन्थ्यो। परिवारले पनि पढाइ रोक्ने निर्णय गरेपछि उनले पढाइ छोड्ने अवस्था आयो।
तर कक्षा ८ को नतिजामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भए पनि उनले घरमै बस्नुपरेको थियो।
छात्रवृत्तिले फेरियो जीवन
यही बीच गाउँकी पुष्पा रोकायसँग भेट भएपछि उनको जीवनले नयाँ मोड लियो। अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले आर्थिक रूपमा कमजोर तथा अपाङ्गता भएका व्यक्तिलाई छात्रवृत्ति दिने जानकारी पाएपछि उनले आवेदन दिइन् र छनोट भइन्।
छात्रवृत्ति पाएपछि उनले कक्षा ९ मा भर्ना भएर पढाइलाई निरन्तरता दिइन्। २०७५ सालमा एसइई उत्तीर्ण गरेपछि परिवार पनि उत्साहित भयो। परिलक्षित संस्थाले शैक्षिक सहयोगअन्तर्गत पढाइका लागि आवश्यक खर्च व्यहोर्दै आएको छ, जसबाट उनीजस्तै धेरै विद्यार्थी लाभान्वित भएका छन्।
देवीका आमाबुवा सरुदेवी पाठक र नवराज पाठकले छोरीको सङ्घर्ष र मेहनतमा संस्थाको सहयोग अवसरका रूपमा आएको बताएका छन्। हौसला र अवसर पाए अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्ने उनीहरूको भनाइ छ।
कामसँगै पढाइ
एसइईपछि उनले बैंकिङ क्षेत्रमा काम गर्ने लक्ष्यसहित प्लस टुमा लेखा विषय अध्ययन गरिन्। हाल स्नातक तह पूरा गर्ने तयारीमा छन्। पढाइसँगै उनले अपाङ्गताको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिरहेकी छन्।
हाल उनी अपाङ्गता एकता समाज कैलालीमा लेखापाल पदमा कार्यरत छन्। साथै, नेपाल अपाङ्गता महिला सङ्घ कैलालीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि पैरवी गर्दै आएकी छन्।
सरकारी सेवामा प्रवेश गर्ने लक्ष्यका साथ तयारी गरिरहेकी देवीको जीवनयात्राले अवसर र सहयोग पाए अपाङ्गता भएका व्यक्तिले पनि सफलता हासिल गर्न सक्छन् भन्ने सन्देश दिएको छ।































प्रतिक्रिया