भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले संगठित रूपमा व्यावसायिक स्याउ खेती सुरु गरेका छन्। वडाले स्याउ खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान यसतर्फ आकर्षित भएका हुन्।
बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा रोपिएको छ। सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो। गत वर्ष साम्के र तामालुङ गाउँमा मात्र १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको थियो।
साम्के र तामालुङका ३६ जना किसानले करिब १०० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गरेका छन्। वडाबाट ५० प्रतिशत लागत साझेदारी अनुदान उपलब्ध भएपछि किसानलाई थप हौसला मिलेको बताइएको छ। किसानहरू अहिले व्यावसायिक रूपमा स्याउ उत्पादनतर्फ केन्द्रित भएका छन्।
वडाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीलाई प्राथमिकता दिँदै स्याउ उत्पादनका लागि उपयुक्त क्षेत्र पहिचान गरेको जनाएको छ। यस क्षेत्रलाई स्याउको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
यसअघि पनि वडाले व्यावसायिक सुन्तला खेती प्रवद्र्धन गर्न नर्सरी स्थापना गरेको थियो। स्थानीय हावापानीमा उत्पादन भएका बिरुवा किसानलाई उपलब्ध गराउने उद्देश्यले नर्सरी सञ्चालनमा ल्याइएको जनाइएको छ।































प्रतिक्रिया