काठमाडौं । चलचित्रसँग सम्बन्धित ऐतिहासिक सामग्रीहरुको संरक्षण र संकलन गर्ने उद्देश्यले चलचित्र संग्रहालय स्थापना गर्ने घोषणा गरिएको छ । चलचित्र विकास बोर्डमा आयोजित औपचारिक कार्यक्रममा संग्रहालय स्थापनाको घोषणा गरिएको हो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। त्यसैगरी केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष उदय राना मगर तथा बोर्डका सदस्य राजु थापा मगरलगायत चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरूले संग्रहालयका लागि ऐतिहासिक सामग्री प्रदान गरेका थिए ।
प्रमुख अतिथि बस्नेतले संग्रहालयको संरक्षण र प्रवद्र्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले चलचित्र क्षेत्रको इतिहासलाई व्यवस्थित रूपमा जगेर्ना गर्नु समयको आवश्यकता भएको बताइन् ।
कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डि.सी.ले पछिल्लो डेढ वर्षमा बोर्डले द्रुत गतिमा विभिन्न काम अघि बढाएको जानकारी दिए । उनले लामो समयदेखि अधुरो रहेको स्टुडियो निर्माण कार्य सुरु भएको, एकीकृत टिकेटिङ प्रणाली कार्यान्वयनमा ल्याइएको तथा अन्य संरचनात्मक सुधारहरू गरिएको उल्लेख गरे । अब ती कामहरूलाई संस्थागत गर्दै संग्रहालय स्थापना गर्नु महत्वपूर्ण कदम भएको उनको भनाइ थियो ।
उनले चलचित्रकर्मी तथा सर्वसाधारणलाई आफूसँग भएका पुराना स्क्रिप्ट, पोस्टर, क्यामेरा, उपकरण वा अन्य सामग्री संग्रहालयलाई उपलब्ध गराउन आह्वान गरे । संग्रहालयमा प्रदान गरिने सामग्री दाताको नामसहित सुरक्षित रूपमा राखिने बताइएको छ ।































प्रतिक्रिया