कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्कता अपनाउन आग्रह

कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्कता अपनाउन आग्रह

केन्द्रबिन्दु
12
Shares

कञ्चनपुर। कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ।

केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो। सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएको थियो। पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा सङ्क्रमण देखिएको छ।

जोशीका अनुसार रोग प्रारम्भिक चरणमै रहेकाले समयमै सावधानी नअपनाए ठूलो आर्थिक क्षति हुन सक्छ। नमूना सङ्कलन गरिएका फार्म सञ्चालकलाई सचेत गराइएको र सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन भनिएको छ।

अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने घातक सङ्क्रामक रोग हो। यसबाट मृत्युदर शतप्रतिशतसम्म पुग्न सक्ने भएकाले पशु स्वास्थ्य क्षेत्रमा गम्भीर मानिन्छ। सङ्क्रमण फैलिँदा पूरै बथान सखाप हुने जोखिम रहन्छ।

पशु अधिकृत रामप्रसाद भट्टका अनुसार सङ्क्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, दाना–पानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने र छट्पटाउने लक्षण देखिन्छ। कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागमा रातो वा नीलो धब्बा देखिनु मुख्य संकेत हो। साथै नाकबाट फिँज निकाल्ने, बान्ता गर्ने, छेर्ने र हिँड्दा धरमराउने लक्षण पनि देखिन्छन्। यस्ता लक्षण देखिएको केही दिनमै बङ्गुर मर्न सक्छन्।

यो रोग पशुबाट मानिसमा सर्ने रोग होइन, तर आर्थिक क्षति भने ठूलो हुन्छ, जसले साना र मध्यम किसानलाई प्रत्यक्ष असर पार्छ।

कुनै स्थानमा बङ्गुरमा अस्वाभाविक लक्षण देखिएमा वा धमाधम मर्न थालेमा लुकाएर नराखी तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सम्पर्क गर्न आग्रह गरिएको छ।

Logo