बाग्लुङका मतदाता भन्छन्-जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो

बाग्लुङका मतदाता भन्छन्-जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ उसैलाई भोट दिने हो

केन्द्रबिन्दु
0
Shares

ढोरपाटन। बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले चुनाव जितेर बाँदर नियन्त्रण गर्ने नीति ल्याउन आग्रह गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मत माग्न गाउँमा पुगेका उम्मेदवारलाई मतदाताले बाँदर आतङ्कले गाउँमा बस्न गाह्रो भएको गुनासो गरेका हुन्।

जैमिनी नगरपालिका–५ की कुमारी थापाले बसाइँसराइका कारण गाउँ रित्तिँदै गएपछि बाँदर गाउँमै बस्न थालेको बताइन्। बारीमा लगाएको बालीदेखि घरमा राखेका सामानसम्म बाँदरले नष्ट गर्दा गाउँमा बस्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। टोलछिमेकका धेरैजसो परिवार बजार झरेको उल्लेख गर्दै गाउँमा बस्ने वातावरण बनाउने नेतालाई जिताउनुपर्ने बताइन्।

उनले भनिन्, “बाँदरले गाउँमा बस्न गाह्रो बनाइसक्यो, न बारीका बाली जोगिन्छन्, न घरका सरसामान सुरक्षित छन्। यस्तो अवस्थामा कसरी गाउँमा बस्ने? पहिले विकास नभएर मान्छे बजार झरे, अहिले विकास आए पनि बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था छ। जसले बाँदर नियन्त्रण गर्ने योजना ल्याउँछ, उसैलाई भोट दिने हो।”

स्थानीय प्रतीमा पौडेलले केटाकेटी र वृद्धवृद्धालाई गाउँमा एक्लै बस्न समस्या हुने गरेको बताइन्। पहिले वनमा बस्ने बाँदर अहिले गाउँमै बस्न थालेको र बालबालिका तथा वृद्धमाथि आक्रमण गर्न आउने गरेको उनले भनिन्। घर छोडेर मेलापात जाँदा एक–दुई जना घर कुरुवाका रूपमा राख्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ।

उनले भनिन्, “पछिल्लो पाँच वर्षदेखि बाँदरले गाउँमा आतङ्क मच्चाएको छ। हुनेखाने सबै सहर गइसके, गाउँमा सामान्य परिवार मात्र छन्। पहिले धेरै मान्छे हुँदा बाँदर डराउँथे, अहिले धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन्। यस्तो अवस्थामा गाउँमा बस्न सक्ने स्थिति छैन। चुनावमा भोट माग्न आउने नेतालाई बाँदर नियन्त्रण गरेर गाउँमा बस्ने वातावरण मिलाइदिन भनेका छौँ।”

बरेङ–१ का तमबहादुर विकले जनताको माग र आवश्यकतालाई बुझेर काम गर्ने नेतालाई भोट दिने बताए। धेरै उम्मेदवार भोट माग्न आएको उल्लेख गर्दै यसपालि किसानका समस्या बुझ्ने उम्मेदवारलाई समर्थन गर्ने बताए।

Skip This
Skip This
Logo