दोधारा चाँदनी। जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माण भएपछि दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर बस्ती बाढीबाट सुरक्षित भएको छ। वर्षौंदेखि जोगबुढा र महाकाली नदीको बाढीबाट प्रभावित बस्तीमा अब बाढीको त्रास कम भएको स्थानीयहरूले बताएका छन्।
स्थानीय खडक बुढाले भने, “पहिले नदीको कटानले हाम्रो बिघौँ जग्गा महाकाली नदीमा गइसकेको थियो। वर्षायाममा बाढीको डरले बस्नै मुस्किल थियो, तर तटबन्ध निर्माणपछि ठूलो राहत भएको छ।” उनले महाकाली नदीमा करिब ४०० मिटर थप तटबन्ध बन्न बाँकी रहेको र त्यसपछि पूर्ण सुरक्षा मिल्ने बताए।
वडा अध्यक्ष चन्द्रबहादुर सिंहले पनि बस्ती सुरक्षित भएको जानकारी दिए। उनले भने, “जोगबुढामा अन्य स्थानमा पनि तटबन्ध निर्माण हुँदैछ, जसले बाढीको समस्या हटाउनेछ।” बस्तीमा डेढ सय परिवार बसोबास गर्दै आएका थिए, र महाकाली तथा जोगबुढा नदी कटानका कारण विगतमा १०० घरपरिवार विस्थापित भएका थिए।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गत चैत २५ मा रु ५ करोड १६ लाख ६७ हजारमा शङ्कर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरी तटबन्ध निर्माण सम्पन्न गरेको थियो। आयोजना प्रमुख रञ्जनराज भट्टराईका अनुसार महाकाली, जोगबुढा, दोदा नदी र कैलालीको मोहना कुटियामा विभिन्न नदी नियन्त्रणका काम भइरहेका छन्।
स्थानीय सडकको पहुँच पनि सुधार हुँदैछ; दोधारा चाँदनी सुक्खा बन्दरगाह क्षेत्रमा महाकाली नदी छेउमा लेनको पक्की सडक निर्माण भएको छ। यद्यपि केही तटबन्ध मर्मतसम्भार गर्न बाँकी छ, तर आयोजनासँग बजेट अभाव हुँदा पूर्ण मर्मत हुन सकेको छैन।
तटबन्ध निर्माणपछि स्थानीयहरूले बस्तीमा सुरक्षित बसोबासको अपेक्षा राखेका छन्।































प्रतिक्रिया