सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

केन्द्रबिन्दु
0
Shares

किमाथाङ्कान् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी बढेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा प्रचार गतिविधि बढेसँगै आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी कडा बनाएको जनाएको छ । जिल्लामा आचारसंहिता उल्लङ्घनसम्बन्धी ३३ उजुरी परेका छन् । तीमध्ये अधिकांश मौखिक उजुरी रहेका छन् ।

निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका उजुरी तत्काल समाधान गर्दै आएको जनाएको छ । हालसम्म २१ मौखिक र छ लिखित उजुरी दर्ता भएका छन् । साथै, छ वटा पार्टी तथा उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी परेको छ ।

टोपी, टिसर्ट, ब्यानर वितरण तथा मोटरसाइकल र्‍याली जस्ता गतिविधि आचारसंहिताविपरीत भएको उजुरीमा उल्लेख छ । उल्लङ्घन गर्ने पार्टी वा उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन । लिखित उजुरीका आधारमा सम्बन्धित पक्षसँग स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको छ ।

उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिन गरी आवश्यक निर्देशन तथा सचेत गराउने काम भइरहेको समितिले जनाएको छ । लिखित उजुरीमा औपचारिक प्रक्रिया अपनाइने र मौखिक उजुरीमा प्रारम्भिक तहमा छलफल तथा सचेत गराउने अभ्यास गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा १५ दल र एक स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Logo