पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

केन्द्रबिन्दु
0
Shares

सिरहा। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी गतिविधि बढेको छ । तर उम्मेदवारहरूका लागि यसपटक घरदैलो विगतजस्तो सहज देखिएको छैन । मतदाताले अघिल्ला प्रतिबद्धता र कामको विवरण माग्न थालेका छन् ।

पुराना दलका नेताहरूलाई विगतको कार्यसम्पादन प्रस्तुत गर्न चुनौती देखिएको छ भने नयाँ उम्मेदवारहरूलाई आफू फरक भएको आधार स्पष्ट पार्न दबाब परेको छ । मतदाताले कमला पुलको निर्माण, भूमिहीनलाई लालपुर्जा, किसानलाई मलखाद र गाउँ–गाउँमा पक्की सडकलाई मुख्य मुद्दा बनाएका छन् ।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल १४ वर्षसम्म पनि सम्पन्न नभएको विषयमा स्थानीय असन्तुष्ट छन् । पुल निर्माणमा ढिलाइ र गुणस्तरसम्बन्धी प्रश्न उठ्दै आएको छ । स्थानीयले यसपटक ठोस कार्यतालिका र सुनिश्चितता खोजिरहेका छन् ।

भगवानपुर, लहान, धनगढीमाई, गोलबजार र नवराजपुर क्षेत्रका दलित तथा भूमिहीन समुदायले लालपुर्जाको विषयलाई प्राथमिकतामा राखेका छन् । उनीहरूले पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् ।

किसानहरूले खेतीको समयमा मल अभाव र कृषि उपजको उचित मूल्य नपाउने समस्या दोहोरिँदै आएको बताएका छन् । स्थानीय किसानका अनुसार कृषि सामग्रीको उपलब्धता र बजार व्यवस्थापनमा सुधार आवश्यक छ ।

ग्रामीण सडकको अवस्थाबारे पनि मतदाताले चासो व्यक्त गरेका छन् । वर्षेनी मर्मत र ग्राभेल हाल्ने काम भए पनि दीर्घकालीन समाधान नभएको गुनासो छ । स्थानीयले गुणस्तरीय पक्की सडक र पारदर्शी निर्माण प्रक्रियाको माग गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा पुराना दलका उम्मेदवारहरूले विगतमा गरेका काम सार्वजनिक गरिरहेका छन् भने नयाँ उम्मेदवारहरूले विकल्पको रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । यसपटक मतदाताले विकास, सुशासन र कार्यसम्पादनलाई केन्द्रमा राखेर निर्णय गर्ने संकेत देखिएको छ ।

Logo