झापा ५ :ओलीको अन्तर्वार्ता लिन पुग्दा एमालेकै भोलेन्टियर्स फोर्सको आक्रमणमा परे पत्रकार आचार्य

झापा ५ :ओलीको अन्तर्वार्ता लिन पुग्दा एमालेकै भोलेन्टियर्स फोर्सको आक्रमणमा परे पत्रकार आचार्य

केन्द्रबिन्दु
21
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार केपी शर्मा ओलीको अन्तर्वार्ता लिन पुगेको पत्रकार अर्जुन आचार्यमाथि एमालेकै भोलेन्टियर्स फोर्सको आक्रमणमा परी घाईते भएका छन् । ओलीको सचिवालयलेनै अन्र्तवार्तामा बोलाएर पत्रकार जाँदा भोलेन्टियर्स फोर्सका व्याक्तिहरुले आक्रमण घाईते पत्रकारले बताएका छन् ।

बिहीबार झापा झापा ५ का अन्य उम्मेदवारको अन्तर्वार्ता लिइसकेपछि आचार्य सहितको टोलीले ओलीको अन्तर्वार्ता लिन प्रयास गरेको थियो। यस क्रममा ओलीले नै अन्तर्वार्ताको लागि आफ्नो सचिवालय मार्फत कमल गाउँपालिकामा बोलाएपछि पुग्दा पत्रकार आचार्यमाथि आक्रमण भएको हो। ।

हाम्रोमत कार्यकारी सम्पादक तथा रातोपाटीका संवाददाता रहेका आचार्य सहितको टोली ओलीको घरदैलो अभियान चलिरहेको कमल गाउँपालिका ४ र ५ मा पुगेको थियो। जीवनचोकमा टोली पुग्दा पत्रकार आचार्यमाथि एमाले निकट भोलेन्टियर्स फोर्सका समूहले आक्रमण गरेको हो।

पत्रकार आचार्यले भिडियो खिचिरहेको बेला मोबाइल खोसेर सो समूहले आचार्यमाथि मुक्का र बुट बजारेको थियो। आक्रमणबाट पत्रकार आचार्यको टाउको, अनुहार र ढाडमा समस्या देखिएको छ। आचार्यको चस्मा र मोबाइल भने आक्रमणकारीले नै लुटेका छन्।

घटना भइरहँदा एमाले अध्यक्ष ओली केही मिटर अगाडि मात्रै घरदैलो अभियानमा थिए। उनको साथमा सुरक्षाकर्मीको टिम पनि परिचालित थियो। तर, पत्रकारमाथि आक्रमण हुँदा मात्र हैन, घटना भएको चार पाँच घण्टा बितिसक्दा पनि दोषीहरू पक्राउ परेका छैनन्।

एमालेको घरदैलो अभियानमा केही महिलाले घन्टीमा भोट हाल्ने अभिव्यक्ति दिएपछि एमालेका कार्यकर्ताहरूले अश्लिल गालीगलज महिलाहरू माथि गरेका थिए। त्यही भिडियो खिच्ने क्रममा पत्रकार आचार्यमाथि आक्रमण भएको हो। उनीहरूले आचार्यको मोबाइल खोसेर भिडियो डिलिट गर्ने प्रयास गर्दा मोबाइलको लक नखुलेपछि सडकमा मोबाइल बजारेका थिए भने आचार्यमाथि निर्घात आक्रमण गरेका थिए।

घटनापछि आचार्यलाई अपहरण गर्न उनीहरूले आफू सवार गाडीमाथि चढाउने प्रयास गरेका थिए। त्यसलाई भने एमालेकै केही कार्यकर्ताहरूले रोकेका थिए । पीडित आचार्यका अनुसार सो समूहले दमकमा पुगेर थप देखाइदिने धम्की समेत दिएका थिए भने आचार्य सहितका पत्रकार सवार रहेको गाडीमाथि पनि आक्रमणको प्रयास भएको थियो।

घटनापछि असुरक्षित महसुस गर्दै आचार्यसहितको टोली विराटनगर फर्किएको छ । आचार्यको न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहार सुन्नीएको छ भने ढाड र पाखुरामा निलडाम छ। टाउकोमा टुटुल्का देखिएको छ।

आचार्यको प्रेसर बढेको र कमजोरी देखिएको भन्दै अस्पतालले थप परीक्षण भइरहेको जनाएको छ। घटनापछि एमालेका कार्यकर्ताहरूले फोन गरेर मोबाइल र चस्मा फिर्ता गर्ने बताएको भए पनि घटनाप्रति माफी नमागेको टोलीमा सहभागी पत्रकार रोहित दाहालले जानकारी दिएका छन् ।

Logo