पर्वत। प्रतिनिधिसभा उम्मेदवार मनहरी तिमिल्सिनाले कुस्मा नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो र चुनावी अभियानलाई तिव्रता दिएका छन् । विभिन्न वडामा आयोजित कार्यक्रममा भएको भेटघाट, अन्तरक्रिया र खुला संवाद कार्यक्रम अत्यन्त आत्मीय र उत्साहजनक भएको बताएका छन्। चुवा, ठूलीपोखरी र गिज्यानमा सम्पन्न भेटघाटमा स्थानीय जनसमुदाय र आदरणीय अग्रजहरूसँग प्रत्यक्ष संवादले आँफूलाई नयाँ ऊर्जा र प्रेरणा दिएको तिमिल्सिनाले केन्द्रविन्दुलाई बताए।
गिज्यानमा भएको कार्यक्रममा बोल्दै तिमिल्सिनाले रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विकास, शिक्षा र उद्यमशीलता प्रवद्र्धनका विषयमा जोड दिए । तिमिल्सिनाले खासगरी युवा वर्गका लागि आईटी–आईसिटी तालिममार्फत १२ कक्षासम्म अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई ३–६ महिनाको व्यावहारिक डिजिटल तालिम उपलब्ध गराई डिजिटल रोजगारीका अवसर सिर्जना गर्ने योजना रहेको बताए । यसले युवाहरूलाई व्यावसायिक सीप र व्यावहारिक ज्ञान दिन सहयोग पुग्ने उल्लेख समेत गरे । यस्तै तिमिल्सनाले जनताको विश्वासलाई विकासमा बदल्ने दृढ प्रतिवद्धता समेत जाहेर गरे।
उनले भने, “मलाई मतदान गरेकोमा पछुताउने दिन आउन दिने छैन,कसैको आश्वासन र दबाममा परेर अमूल्य मत खेर जान नदिनुहोला,सही उम्मेदवार,स्पष्ट विचार,पर्वतको भाग्य र विकास संगै समृद्धिका लागि हजुरहरुको अमूल्य मत सदुपयोग होस्”
यस्तै तिमिल्सिनाले आफुनै सवैभन्दा कान्छो र सवैको साझा उम्मेदवार भएको जिकिर समेत गरे ।
उनले उत्पादनमूलक क्षेत्रमा लगानी, ठूला परियोजना सञ्चालन र साना उद्यमहरूको व्यावसायिकरण, आधुनिकिकरण र बजार व्यवस्थापनमा स्थानीय निकायको सक्रिय भूमिका आवश्यक रहेको बताए। यस्तै तिमिल्सिनाले नगदेवालीमा जोड दिनुपर्ने, सानो पुँजी भएपनि सुरक्षित वातावरणमा लगानी गरी व्यावसायिक वातावरण सिर्जना गर्नु आजको स्थानियको आवश्यकता रहेको औँलाए।
यस्तै उनले संसदको कार्यशैली सुधार र खाली हुँदै गएका गाउँघरको विकासमा ध्यान दिनुपर्नेमा चिन्ता व्यक्त गरे। तिमिल्सिनाले पब्लिक डिबेटको वातावरण अझै सृजना हुन नसकेकोमा दुख व्यक्त गगरे। कार्यक्रममा उपस्थित जनसमुदायले तिमिल्सिनालाई आफ्नो विश्वास, सुझाव र साथ सदैव रहने भन्दै विजयीको शुभकामना व्यक्त गरेका थिए।
अन्ततः उनले मतदाता समक्ष तारा चिन्हमा मतदान गरी आफ्नो विश्वासको मत दिनु पर्ने आव्हान गर्दै, समग्र निर्वाचन प्रक्रियामा जनसहभागिता सुनिश्चित गर्न आग्रह समेत गरे ।
तिमिल्सिनाको यो अभियानले स्थानीय जनसमुदायबीच सकारात्मक प्रभाव पार्दै, आगामी प्रतिनिधिसभा निर्वाचनमा परिवार, युवा र वृद्ध सबै वर्गका मतदाताहरुले सम्मानपुर्वक मतदान गर्ने आश्वासन दिएका नेकपा पर्वतले जनाएको छ ।































प्रतिक्रिया