मोरङ। आचारसंहिता उल्लंघनका घटनाबारे निर्वाचन आयोगलाई आजमात्र विज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको काँग्रेसको चुनावी प्रचारको गाडिबाट मोरङमा ४ लाख ४९ हजार रुपैया बरामत गरिएको छ । यसरी नेलाली काँग्रेस हात्तिका देखाउने दाँत र लुकाउने दाँत जस्तै बनेको छ । मोरङ–२ मा निर्वाचन प्रचारका क्रममा हिँडेको गाडीबाट नगद रकम बरामद भएपछि निर्वाचन आचारसंहितामाथि प्रश्न उठेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले कांग्रेस कार्यकर्ता सवार गाडीबाट ४ लाख ४९ हजार रुपैयाँ फेला पारेको जनाएको छ।
रतुवामाइ नगरपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले शंका लागेपछि उक्त गाडी रोकेर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले गाडी चोकमै भेट्टाएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालका अनुसार गाडीभित्र कांग्रेसका प्रचार सामग्रीसँगै ठूलो रकम भेटिएको हो। चालकले आफू व्यवसायी भएको र रकम आफ्नै भएको दाबी गरेका छन्। रकमको स्रोत र उद्देश्यबारे स्पष्ट नखुलेपछि गाडी र नगद रकम निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको छ।
घटनापछि गाडीमा रहेका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। प्रारम्भिक सोधपुछपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ।
निर्वाचन अधिकृत रूद्र आचार्यले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन्। मोरङ–२ मा कांग्रेसबाट मिनेन्द्र रिजाल उम्मेदवार छन् भने एमालेबाट दिलिपकुमार अग्रवाल, नेकपाबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की प्रतिस्पर्धामा छन्।
निर्वाचनको मुखमा नगदसहित प्रचार गाडी फेला पर्नुले स्थानीय राजनीतिक माहोल थप तातेको छ।





























प्रतिक्रिया