वीरगञ्ज। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या १,०९० जना रहेको छ। जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन्।
जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारका अनुसार सरकारी कर्मचारी, कारागारका कैदीबन्दी, सुरक्षा निकायका कर्मचारी लगायत १,०९० जना अस्थायी मतदाताले प्रतिनिधिसभा समानुपातिक निर्वाचनमा मतदान गर्न पाउनेछन्। “निर्वाचनको लागि मतदान केन्द्रमा खटिनुभएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्ने व्यवस्था गरिएको छ,” उनले जानकारी दिइन्। “अन्य मतदाताका लागि वीरगञ्ज कारागार र जिल्ला हुलाक कार्यालय पर्साको प्राङगणमा मतदानको व्यवस्था मिलाइएको छ।”
वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले कारागारमा रहेका ३५ जना कैदीबन्दीले मतदानमा सहभागी हुने बताए। “मतदाता नामावलीमा नाम समावेश गरेका यी कैदीबन्दीले समानुपातिक निर्वाचनमा मतदान गर्नेछन्। कारागारमा अस्थायी मतदान केन्द्र तोकेर मतदानको व्यवस्था मिलाइएको छ।”
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले भयरहित निर्वाचनको लागि आवश्यक वातावरण तयार गरिएको जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति तथा उपरीक्षक मोहनबहादुर क्षेत्रीले निर्वाचन शान्तिपूर्ण र सुरक्षित वातावरणमा सञ्चालन हुने गरी तयारी गरेको बताए।
जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा १०७ जना उम्मेदवार रहेका छन्। यसमध्ये ४६ जना स्वतन्त्र उम्मेदवार छन्, जसमा सात महिला र ३९ पुरुष छन्। राजनीतिक दलबाट ६१ जना उम्मेदवार छन्, जसमा पाँच महिला र ५६ पुरुष उम्मेदवार रहेका छन्।































प्रतिक्रिया