प्रदेशहरूलाई तत्कालै तीन सय ३६ गाडी आवश्यक, कुन प्रदेशमा कतिवटा ?

प्रदेशहरूलाई तत्कालै तीन सय ३६ गाडी आवश्यक, कुन प्रदेशमा कतिवटा ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सातै वटा प्रदेशका लागि कम्तीमा पनि ३३६ वटा गाडी आवश्यक पर्ने देखिएको छ । प्रदेश १ मा तत्काल ५० गाडी आवश्यक पर्ने देखिएको छ । त्यसमध्ये केन्द्र सरकारले १३ वटा गाडी उपलब्ध गराउने भएको छ । बाँकी गाडी प्रदेशअन्तर्गतका जिल्लाबाट व्यवस्थापन गर्नुपर्ने स्थिति रहेको प्रमुख सचिव यादव कोइरालाले बताए ।

प्रदेश २ मा तत्काल ३५ गाडी आवश्यक पर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यो प्रदेशमा प्रमुख सचिव सहित १० सचिव छन् । उनीहरूका लागि एक–एकवटा गाडी व्यवस्थापन गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुँयालले बताए । प्रदेश ३ मा तत्काल ५९ गाडी आवश्यक पर्ने देखिएको छ । तीन वटा गाडी मात्र व्यवस्थापन भएको छ । प्रमुख सचिव रेश्मीराज पाण्डेले मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रमुख सचिव र सचिवहरूका लागि तत्काल गाडी व्यवस्थापन गर्न लागिएको बताए ।

प्रदेश ४ का लागि तत्काल ३० वटा गाडी आवश्यक पर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले बताए । तर अहिले सम्म मुख्यमन्त्रीका लागि मात्र गाडीको व्यवस्थापन हुन सकेको छ । यस्तै प्रति मन्त्रालय तीनका दरले ६ मन्त्रालयलाई १८ वटा गाडी आवश्यक रहेको उनले बताए । संसद सचिवालय, सभामुख, उपसभामुख, विपक्षी दलका नेताका लागि एक–एकवटा गाडी आवश्यक पर्नेछ । सरकारले १२ वटा गाडी पठाउने तयारी गरेको छ ।

प्रदेश ५ मा अहिले सम्म कतिवटा गाडी आवश्यक पर्छ भन्ने निश्चित भइसकेको छैन । केन्द्र सरकारले तत्काल सातवटा गाडी पठाउन लागेको पत्र प्राप्त भएको मुख्यमन्त्री कार्यालयका सचिव जितेन्द्र काफ्लेले बताए । प्रमुख सचिव काठमाडौंमा रहेकाले आवश्यक गाडीको संख्या निश्चित गर्न नसकेको उनको भनार्इ छ । उनले ६ वटा मात्र मन्त्रालय रहेको स्थितिमा करिब ४० वटा गाडी तत्काल व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रदेश ६ ले तत्कालका लागि ३५ वटा गाडी आवश्यक पर्ने बताएको छ । त्यस मध्ये केन्द्र सरकारसँग १५ वटा गाडी मागेको प्रमुख सचिव सुरेश प्रधानले जानकारी दिए । बाँकी गाडी प्रदेश अन्तर्गतकै कार्यालयबाट व्यवस्थापन गर्ने उनले बताए । प्रदेश ७ ले सुरुकै दिनमा कम्तीमा ४५ वटा गाडी आवश्यक पर्ने जनाएको छ । त्यस मध्ये मुख्यमन्त्री र मन्त्रीहरूका लागि आवश्यक पर्ने गाडीका लागि केन्द्र सरकारको भर परेको मुख्यमन्त्री कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए । ४५ वटा गाडी मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्री, सभामुख–उपसभामुख, प्रमुख सचिव, सचिवहरूलाई उपलब्ध गराइनेछ ।

यता प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एउटा स्कार्पियोको व्यवस्था गरेको छ । केन्द्र सरकारले शपथग्रहण गरेकै दिन ५ माघमा उनलाई गाडी दिएको थियो । तर सो गाडी भोलिपल्टै बिग्रेर बीचबाटोमै अलपत्र पर्‍यो । ७ माघमा प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराउन प्रदेश प्रमुख सुर्खेत आउने क्रममा विमानस्थल जाँदा बाटोमै गाडी बिग्रिएको थियो । उनी ट्याक्सी चढेर विमानस्थल पुगेका थिए । सो गाडी अहिले पनि केन्द्रमै थन्किएको छ ।
नयाँपत्रिकाबाट

 

 

Logo