काठमाडौं–५ मा कमल थापाको जमानत जफत, रास्वपाका सस्मित पोखरेल विजयी

काठमाडौं–५ मा कमल थापाको जमानत जफत, रास्वपाका सस्मित पोखरेल विजयी

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा पराजित मात्र नभई जमानतसमेत जोगाउन असफल भएका छन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजयी भएका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका प्रदीप पौडेल ९ हजार १५९ मतसहित रहेका छन् भने नेकपा एमालेका ईश्वर पोखरेल ४ हजार ७०१ मतसहित तेस्रो स्थानमा सीमित भए।

राप्रपाका उम्मेदवार कमल थापाले भने १ हजार ९२२ मत मात्र प्राप्त गरे। कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेपछि कानुनअनुसार उनको जमानत जफत भएको छ।

काठमाडौं–५ मा राप्रपाबाट स्थानीय नेता हिक्मतजंग कार्कीले टिकट पाउने चर्चा भए पनि अन्तिम समयमा कमल थापाले उम्मेदवारी दिएका थिए। टिकट विवादपछि कार्कीले पार्टी नै छाडेका थिए।

कमल थापाको प्रत्यक्ष निर्वाचनमा जितको इतिहास कमजोर देखिन्छ। उनले २०५१ सालको मध्यावधि निर्वाचनमा मकवानपुर–१ बाट जितेका थिए। त्यसपछि भएका अधिकांश प्रत्यक्ष निर्वाचनमा भने उनी पराजित हुँदै आएका छन्।

यसअघि २०४८ सालमा मकवानपुर–१ बाट एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भएका थापा २०५६ सालमा पनि मकवानपुरका दुई क्षेत्रमा हारेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट माओवादीका प्रल्हाद लामिछानेसँग पराजित भएका थिए।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने प्रत्यक्ष जित्न नसके पनि समानुपातिक सूचीबाट संसद् प्रवेश गरेका थिए। २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी मकवानपुर क्षेत्रबाट पराजित भएका थिए।

काठमाडौं–५ को पछिल्लो नतिजाले उनको चुनावी यात्रामा अर्को हार थपिएको छ।

Logo