काठमाडौं । स्थानीय सरकारको कार्यकाल पूरा नगरी राजीनामा गरेर संघीय सांसद ताक्ने अधिकांश जनप्रतिनिधिले लज्जास्पद पराजय ब्यहोरेका छन् । पार्टीभित्र प्रभावका आधारमा टिकट हात पार्दै उम्मेदवार भएकाहरुलाई जनताले मतबाटै अस्वीकार गरेका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ बाहेक सबैजसो स्थानीय तहका प्रमुख/उपप्रमुखले पराजय ब्यहोरेका हुन् । काठमाडौं महानगरका मेयरबाट राजीनामा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावमा होमिएका शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा–५ बाट पराजित गरेका छन् । देशकै चर्चित निर्वाचन क्षेत्रको रूपमा झापा -५ बाट तीनपटक प्रधानमन्त्री र ५ पटक सांसद भएका ओलीलाई करिब ५० हजार मतान्तरसहित पराजित गरेका हुन् ।
यसैगरी सुनसरी–१ बाट उम्मेदवार भएका धरानका पूर्वमेयर साम्पाङले पनि राष्ट्रिय श्रम संस्कृति पार्टीको स्थापना गरी राजनीतिमा होमिएका थिए । उनी भारी मतान्तरसहित सांसद चुनिन सफल भएका छन् । यस्तै, वीरगञ्ज महानगरपालिका–१० का अध्यक्ष सुशील साह कानु रास्वपाबाट पर्सा क्षेत्र नं २ मा उम्मेदवार बनेका थिए । उनी कांग्रेसका अजय चौरासियालाई तेब्बर मतान्तरले हराउँदै सांसद बनेका छन् उनले ३० हजार ७ सय ४० मत प्राप्त गरेका छन् । वडाअध्यक्षबाट सांसद बनेका उनी जसपा नेपालबाट रास्वपा प्रवेश गरेका थिए । शाह र साम्पाङ बाहेक अन्य स्थानीय तहका जनप्रतिनिधिले लज्जास्पद पराजय ब्यहोर्न पुगेका छन् ।
हार व्यहोर्नेमा भरतपुर महानगरपालिकाबाट राजीनामा दिएर नेकपाबाट चितवन -३ मा उम्मेदवार बनेकी रेनु दाहाल पहिलो नंबरमा रहेकी छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी दाहाललाई रास्वपाकी सोविता गौतमले पराजित गरेकी हुन् । चितवन–३ मा गौतमले ५९ हजार २७७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी दाहालले २० हजार ६१५ मत मात्रै पाइन् । विकासप्रेमी छवी बनाएकी उनका लागि यो एउटा कालो धब्बा सावित भएको छ ।
यता धुलिखेल नगरपालिकाको मेयर भएका अशोककुमार ब्याञ्जु श्रेष्ठ मेयर पदबाट राजीनामा दिएर नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । तर उनले आफ्नै पूर्वकार्यकर्ता रास्वपा उम्मेदवार बदन भण्डारीसँग पराजय भोगे । भण्डारीसँग ब्याञ्जु तीन गुणा बढी मतान्तरले पराजित भएका हुन् । काभ्रे–२ बाट उम्मेदवार भएका ब्याञ्जुले १३ हजार ९४० मत ल्याउँदा उनलाई पराजित गर्ने भण्डारीले ५३ हजार ३४४ मत ल्याएर विजय हासिल गरे ।
यता स्थानीय तहको म्यान्डेट नसकिँदै राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएका इलाम क्षेत्र नम्बर–१ मा नेकपाबाट उम्मेदवार भएका सूर्योदय नगरपालिकाका निवर्तमान मेयर रणबहादुर राई चुनावी नतिजामा पाँचाैं स्थानमा मात्र रहे । सूर्योदय नगरपालिकाको दुई कार्यकाल मेयर भएका राईले पनि कार्यकाल नसकिँदै राजीनामा गरेर संघीय सांसद हुने लोभ देखाउँदा पराजय भोगेका हुन् ।
ओखलढुंगा लिखु तामाकोशी गाउँपालिकाकी उपप्रमुख अस्मिता थापाले पनि पराजय भोगेकी छन् । केही महिनाअघि मात्रै रास्वपा प्रवेश गरेका पूर्वएआईजी विश्वराज पोखरेलले सांसद पदमा बाजी मार्दा थापा चौथो भइन् । पोखरेलले कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पराजित गरे । नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी थापाले टिकट पाए पछि ओखलढुंगा एमालेको सिंगो पार्टी कमिटीले राजिनामा दिएर नेकपा प्रवेश गरेका थिए । एमाले छोडेर नेकपाबाट उम्मेदवार बनेका अमिरबाबु गुरुङ तेस्रो स्थानमा रहे ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षबाट राजीनामा गरेर उदयपुर–१ मा स्वतन्त्र उम्मेदवारी दिएका मेजरकुमार राईले १०० मत पनि कटाउन सकेनन् । सांसद बन्न आएका राईको ९० भोट आउँदा रास्वपाका सूर्यबहादुर तामाङले उदयपुर–१ मा १४ हजार ८०२ मत ल्याएर चुनाव जितेका छन् ।
त्यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षबाट राजीनामा गरेर चुनावमा लडेका एमाले उम्मेदवार खिमबहादुर थापालाई रास्वपाका झवीलाल डुम्रेले पराजित गरेका छन् । डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार थापा १४ हजार १०८ मत ल्याएर तेस्रो भए । २०७४ र २०७९ सालमा गाउँपालिका अध्यक्ष भएका थापाले संघीय सांसदको लोभ जनमतको अपमान गर्दा दोस्रो कार्यकाल पूरा गर्न पाएनन् ।
यता २०७९ को स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलालीको टीकापुर नगरपालिकाको मेयर जितेका रामलाल डगौरा थारु पनि यसपटक सांसदको लोभमा जिल्लै परेका छन् । मेयर राजीनामा गरी नेकपाबाट कैलाली क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका डगौरालाई रास्वपाकी कोमल ज्ञवालीले दोब्बर मतान्तरले पराजित गरिन् । ज्ञवालीले १७ हजार ८२६ मत ल्याउँदा मेयर राजीनामा गरेका डगौराले ८ हजार ३९२ मत ल्याएर तेस्रो भए ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले कार्यकाल नसकिँदै राजीनामा गरी संघीय सांसदको उम्मेदवार बन्न खोज्दा जमानत समेत जोगाउन सकेनन् । राईलाई नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले पराजित गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट बाँके–२ मा उम्मेदवार भएका कमरुद्धिन ९०८ मत ल्याएर छैटौं भए ।
यता मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले पनि जनमतको अपमान गर्दै बिचैमा राजीनामा गर्दा जनताले अस्वीकृत गरिदिएका छन् । नेकपा एमालेबाट स्थानीय तह निर्वाचनमा जितेका अग्रवाललाई २५ हजारभन्दा बढी मतान्तरसहित रास्वपाका कृष्णकुमार कार्कीले पराजित गरेका छन् । कार्कीले ४० हजार ९२४ मत ल्याउँदा निवर्तमान मेयर अग्रवालले १५ हजार ६२४ मत पाए ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेकपाका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । तर उनी पराजित भए । राईले ९ हजार ४ सय १४ मत प्राप्त गर्दा कांग्रेसका १३ हजार १ सय ६६ मत पाएर विजयी भएका हुन् ।
यता धरान नगरपालिका नं १७ का वडाअध्यक्ष मनोज भट्टराई पनि राजीनामा दिएर मेयर हर्क साम्पाङसँगै संघीय सांसद पदका लागि चुनाव लडेका थिए । साम्पाङ निर्वाचित हुँदा उनले चौथो स्थान मात्र सुरक्षित गर्न सके । उनी नेकपाबाट चुनाव लडेका थिए ।
यसैगरी वीरगञ्ज महानगरपालिका वडा नं २० का अध्यक्ष रामकिशोर सिंह प्रतिनिधिसभा सदस्यमा उज्यालो नेपाल पार्टीबाट पर्सा -३ मा उम्मेदवार बनेका थिए । तर सिहंले जम्मा ३५० मत मात्र ल्याएका छन् । जमानत समेत जोगाउन नसकेका उनले वडाअध्यक्ष कार्यकाल पनि पूरा गर्न पाएनन् ।































प्रतिक्रिया