विश्वका अर्बपतिहरूको सम्पत्ति २० ट्रिलियन डलर नाघ्यो, काे-काे छन् शीर्ष ५ मा ?

विश्वका अर्बपतिहरूको सम्पत्ति २० ट्रिलियन डलर नाघ्यो, काे-काे छन् शीर्ष ५ मा ?

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा भएको लगानी र सेयर बजारको उछालका कारण विश्वका अर्बपतिहरूको संख्या र सम्पत्तिले नयाँ कीर्तिमान कायम गरेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२६ को ‘वर्ल्ड्स बिलियनियर्स’ सूची अनुसार, विश्वभर अर्बपतिहरूको संख्या बढेर ३,४२८ पुगेको छ।

यी अर्बपतिहरूको कुल सम्पत्ति गत वर्षको तुलनामा ४ ट्रिलियन डलरले बढेर २०.१ ट्रिलियन डलर पुगेको छ । यस वर्ष करिब ४०० नयाँ व्यक्तिहरू यस क्लबमा थपिएका छन्। तथ्याङ्क अनुसार, विगत १२ महिनामा विश्वले हरेक दिन औसतमा एक जना नयाँ अर्बपति थपेको छ।

टेस्ला र स्पेस-एक्सका मालिक एलन मस्क लगातार दोस्रो वर्ष विश्वको सबैभन्दा धनी व्यक्तिको रूपमा कायम रहेका छन्। उनको कुल सम्पत्ति ८३९ अर्ब डलर पुगेको छ, जुन इतिहासमै कुनै पनि व्यक्तिले जम्मा गरेको सबैभन्दा धेरै सम्पत्ति हो। टेस्लाको बढ्दो भ्यालुएसन र सन् २०२६ मा स्पेस-एक्सको सार्वजनिक निष्कासन हुने अपेक्षाका कारण उनको सम्पत्तिमा भारी वृद्धि भएको हो। मस्क अब विश्वको पहिलो ‘ट्रिलियनेयर’ (१० खर्बपति) बन्ने दौडमा छन्।

मस्क पछि गुगलका संस्थापकहरू ल्यारी पेज (२५७ अर्ब डलर) र सर्गेई ब्रिन (२३७ अर्ब डलर) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

शीर्ष ५ धनी व्यक्तिहरू-

१. एलन मस्क: ८३९ अर्ब डलर (टेस्ला/स्पेस-एक्स)

२. ल्यारी पेज: २५७ अर्ब डलर (गुगल)

३. सर्गेई ब्रिन: २३७ अर्ब डलर (गुगल)

४. जेफ बेजोस: २२४ अर्ब डलर (अमेजन)

५. मार्क जुकरबर्ग: २२२ अर्ब डलर (मेटा)

प्रविधिको क्षेत्रमा आएको एआई क्रान्तिले नयाँ अर्बपतिहरू जन्माउने गतिलाई तीव्र बनाएको छ । सूचीमा समावेश कम्तीमा ८६ जना अर्बपतिहरूको सम्पत्तिको मुख्य स्रोत एआई रहेको छ। एआई रिक्रुटिङ स्टार्टअप ‘मर्कर’का संस्थापक २२ वर्षिय सूर्य मिधा विश्वकै कान्छो स्व-निर्मित अर्बपति बनेका छन्। उनले २३ वर्षको उमेरमा अर्बपति बनेका मार्क जुकरबर्गको रेकर्ड समेत तोडेका छन्। साथै ३८ वर्ष वर्षिय एडविन चेन १८ अर्ब डलर सम्पत्तिका साथ यस वर्षको सबैभन्दा धनी नयाँ अर्बपति बनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्तिमा पनि २७ प्रतिशतले वृद्धि भएको छ। क्रिप्टोकरेन्सी व्यवसायमा भएको फाइदा र कानुनी जरिवानाहरू खारेज भएका कारण उनको सम्पत्ति ६.५ अर्ब डलर पुगेको छ। उनी सूचीको ६४५औँ स्थानमा छन्।देशगत रूपमा ९८९ अर्बपतिहरूसहित अमेरिका पहिलो स्थानमा रहेको छ भने ६१० अर्बपतिसहित चीन दोस्रो र २२९ अर्बपतिसहित भारत तेस्रो स्थानमा छन्।

यस वर्षको सूचीले विश्वमा धनको केन्द्रीकरण तीव्र रूपमा भइरहेको देखाएको छ। कुल २० जना व्यक्तिहरूसँग १०० अर्ब डलरभन्दा बढीको सम्पत्ति रहेको छ। मनोरञ्जन क्षेत्रबाट डा. ड्रे, बेयोन्से र खेलकुदबाट टेनिस लिजेन्ड रोजर फेडरर पनि यस वर्षको प्रभावशाली सूचीमा अटाएका छन्।

Logo