काठमाडौं
निर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको नतिजा भोलिपल्टै सार्वजनिक गरी प्रतिनिधिसभा समानुपातिकको नतिजा ‘छोटो विधि’ अपनाएर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।
राष्ट्रियसभा चुनाव नभई प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले ६० दिन देखि नतिजा रोकेर राखेको छ । आयोगले प्रतिनिधिसभा नतिजा ढिलोमा फागुन ५ भित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । समानुपातिकको नतिजा रोकिएका कारण प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा पनि नयाँ सरकार गठन हुन सकेको छैन । आयोगले २४ गते हुने राष्ट्रियसभा नतिजा भोलिपल्टै सार्वजनिक गर्ने तयारी गरेको छ । आयुक्त ईश्वरी पौडेलका अनुसार २६ गते आयोगले समानुपातिकतर्फ एकतिहाई महिलाको संख्या पु¥याएर आउन दलहरूलाई पत्राचार गर्नेछ ।
विगतमा दलहरूलाई सात दिनको समय दिइने भए पनि आयोगले आफ्नो कार्यविधि संशोधन गरी अब तीन दिन मात्र दलहरूलाई दिने भएको छ । २९ गते भित्र दलहरूले आयोगले भने अनुसार परिणाम बुझाए आयोगले राष्ट्रपतिलाई नतिजा बुझाउने प्रक्रिया सुरु गर्नेछ भने कारणवश कुनै दलको तल माथि भए थप दुई दिनको समय दिएर सच्याउन समय दिइने आयुक्त पौडेलले जानकारी दिए ।
आयोगले समानुपातिकको नजिता सार्वजनिक गरेपछि सरकार गठनको बाटो खुल्नेछ । संविधानको धारा ७६ ले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। कुनै एक दलको बहुमत नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । यसरी हेर्दा फागुन दोस्रो साता भित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउँछ ।
अन्नपूर्णबाट































प्रतिक्रिया