नवलपरासीपूर्वमा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्यो : ३५ वर्षमाथिलाई खोप अभियान सुरु

नवलपरासीपूर्वमा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्यो : ३५ वर्षमाथिलाई खोप अभियान सुरु

केन्द्रबिन्दु
9
Shares

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सुरु गरिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख केशव चापागाईँका अनुसार चैत १ गतेदेखि जिल्लाभर अभियान सञ्चालन गरिएको छ। अभियान अन्तर्गत करिब एक लाख ५० हजारभन्दा बढी ३५ वर्षमाथिका नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

चालु आर्थिक वर्षमा जिल्लामा जापनिज इन्सेफ्लाइटिसका १५ जना सङ्क्रमित फेला परेका छन्, तीमध्ये छ जनाको मृत्यु भइसकेको छ। पूर्वका वर्षमा पनि संक्रमण र मृत्युका घटना भएको तथ्याङ्क स्वास्थ्य कार्यालयले जनाएको छ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स लामखुट्टेबाट सर्ने रोग हो। यी लामखुट्टे मध्यम आकारका, खैरो रङका र पेटतिर सेतो चिह्न भएका हुन्छन्। विशेषगरी धानबालीमा जमेको पानीमा यी लामखुट्टे बास गर्छन् र साउन, भदौ, असोजमा रोग बढी देखिन्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष ५० हजारभन्दा बढी व्यक्तिमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण हुन्छ, जसमा करिब १०–१५ हजारको मृत्यु हुने गरेको छ।

Logo