एजेन्सी। इराकको कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोट भएपछि क्षेत्रीय तनाव झनै बढेको छ। मध्यपूर्वमा जारी द्वन्द्वको प्रभाव इराकसम्म विस्तार हुँदै गएको संकेत देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सहरका विभिन्न भागमा विस्फोटका आवाज सुनिए पनि लक्षित स्थानबारे स्पष्ट विवरण आएको छैन। सहरमाथि उडाइएका प्रक्षेप्यहरू हवाई प्रतिरक्षा प्रणालीले रोकेको दृश्यसमेत देखिएको जनाइएको छ ।
इरबिलको उपनगर क्षेत्रमा अमेरिकी वाणिज्य दूतावास र विमानस्थल आसपास अन्तर्राष्ट्रिय गठबन्धनका सैनिक तैनाथ छन्। यही कारण यो क्षेत्र सम्भावित निशानामा पर्ने गरेको विश्लेषण गरिएको छ ।
इराक लामो समयदेखि अमेरिका र इरानबीचको अप्रत्यक्ष टकरावको केन्द्र बन्दै आएको छ। पछिल्ला घटनालाई पनि सोही शक्ति संघर्षसँग जोडेर हेरिएको छ। इरान समर्थित समूहहरूले अमेरिकी उपस्थितिविरुद्ध निरन्तर आक्रमणको दाबी गर्दै आएका छन्।
युद्ध चर्किएसँगै इरबिलमा सुरक्षा सतर्कता बढाइएको छ। गठबन्धनको हवाई प्रतिरक्षा प्रणालीले ड्रोन आक्रमणहरू निष्क्रिय पार्दै आएको बताइएको छ । पछिल्ला दिनहरूमा सहरमा दैनिकजसो विस्फोटका आवाज सुनिन थालेका छन्।
यसैबीच, इरान समर्थित सशस्त्र समूह कातेब हिजबुल्लाहले विदेशी सैनिकलाई इराक छाड्न चेतावनी दिएको छ। ‘इस्लामिक प्रतिरोध’ छाता संगठनअन्तर्गत सक्रिय उक्त समूहले अमेरिकी हितविरुद्ध आक्रमण जारी राख्ने संकेत दिएको छ ।





























प्रतिक्रिया