काठमाडौं। विराटनगरस्थित सिटिजन्स बैंकको कञ्चनबारी शाखामा करिब ५ करोड रुपैयाँ हिनामिना भएको घटनामा १३ जना नक्कली ऋणी खडा गरिएको तथ्य खुलेको छ । बैंककै कर्मचारीको मिलेमतोमा सर्वसाधारणको मुद्दती निक्षेपलाई धितो देखाएर नक्कली कर्जा निकालिएको पाइएको छ ।
अडिटमा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ । २० लाखदेखि १ करोड २५ लाखसम्मका नक्कली ऋण फाइल तयार गरी रकम निकालिएको अनुसन्धानले देखाएको छ ।
यस प्रकरणमा शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्य, अपरेसन इन्चार्ज रोजी कँडेललगायतको युजर आईडी प्रयोग भएको भेटिएको छ । कँडेललाई बर्खास्त गरिएको छ भने अन्य कर्मचारी निलम्बनमा परेका छन् ।
प्रहरीले प्रदेश र केन्द्रीय तहका कर्मचारीको समेत संलग्नता हुन सक्ने भन्दै अनुसन्धान अघि बढाएको छ । मुख्य आरोपित कँडेलविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भइसकेको छ ।
बैंकले आन्तरिक छानबिनपछि प्रहरीमा उजुरी दिएको जनाएको छ भने आरोपित पक्षले आफूहरूलाई मात्रै दोष थोपर्ने प्रयास भएको दाबी गरेको छ ।































प्रतिक्रिया