बाजुरा। बाजुराको हिमाली गाउँपालिकामा सञ्चालन गरिएको पाँचदिने घुम्ती स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार गरिएको छ।
चैत १ गतेदेखि बिहीबारसम्म चलेको शिविरमा सातै वडाका स्थानीयले सेवा लिएका छन्। विभिन्न स्थानमा आयोजित शिविरमा पाठेघर खस्ने, क्यान्सर, सेतोपानी, रक्तअल्पता लगायत प्रजनन स्वास्थ्य समस्या तथा दम, मधुमेह, मुटु र मिर्गौलासम्बन्धी रोगको परीक्षण र उपचार गरिएको थियो।
उपचारका क्रममा पाँच सयभन्दा बढी महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको छ भने ६२ जनाको पाठेघर क्यान्सर जाँच गरिएको छ। साथै, नसर्ने रोगको स्क्रिनिङ, क्षयरोग परीक्षणलगायत सेवा पनि प्रदान गरिएको थियो।
कामको बोझ, पोषणको कमी र बालविवाहजस्ता कारणले यस्तो समस्या बढिरहेको पाइएको छ। गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवा सीमित भएकाले जटिल बिरामीलाई बाहिरका अस्पताल जानुपर्ने अवस्था रहेको छ।





























प्रतिक्रिया