म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ ।
समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल बसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी पाहुनाको पर्खाइमा छ ।
चैत–वैशाख गुराँस फुल्ने याम हो । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।
पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययनअनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि बसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । घोडेपानीका होटलमा दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् ।
घोडेपानीमा सवारी साधन र पैदलयात्रा गरेर पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, चित्रे हुदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ । कास्कीको नयाँपुल देखि बिरेठाँटी–उल्लेरी हुदै घोडेपानी जोड्ने कच्चि सडक पनि गत कात्तिक महिनादेखि सञ्चालनमा आएको छ ।





























प्रतिक्रिया