पर्वत अस्पताल रूपान्तरणका अगुवा शंकर गिरी सम्मानित

पर्वत अस्पताल रूपान्तरणका अगुवा शंकर गिरी सम्मानित

केन्द्रबिन्दु
372
Shares

पर्वत। प्रदेश अस्पताल पर्वतका निवर्तमान अध्यक्ष शंकर गिरी लाई अस्पतालको विकास र सेवा सुधारमा गरेको योगदानका लागि सम्मान गरिएको छ । ग्लोबल पर्वत समाजले आयोजना गरेको कार्यक्रममा दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गर्दै उनलाई सम्मान गरिएको हो।

अस्पतालको सेवा प्रवाह सुधार, व्यवस्थापन सुदृढीकरण तथा वातावरणीय सौन्दर्यकरणमा गिरीले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै विभिन्न संघ–संस्था र स्थानीय अगुवाहरूको उपस्थितिमा सम्मान गरिएको हो। करिब ३५ लाख रुपैयाँ लागतमा सम्पन्न सौन्दर्यकरण परियोजनाले अस्पताल परिसरको स्वरूप परिवर्तन गरेको र सेवाग्राहीलाई सहज वातावरण प्रदान गरेको बताइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा ग्लोबल पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले शंकर गिरिले आफ्नो कार्यकालमा देखाएको पारदर्शिता र सक्रियताले अस्पताललाई नयाँ उचाइमा पु-याएको बताए । गिरीले आफ्नो कार्यकालमा देखाएको पारदर्शिता, सक्रियता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका थिए।

त्यस्तै, कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले गिरीको नेतृत्वमा अस्पतालले सेवा विस्तार र जनविश्वास दुवै क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको भन्दै भन्दै प्रशंसा गरे।

सम्मान ग्रहण गर्दै शंकर गिरीले भने, “यो सम्मान मेरो मात्र होइन, सम्पूर्ण स्वास्थ्यकर्मी, सहयोगी संस्था र स्थानीय समुदायको साझा प्रयासको परिणाम हो।” उनले स्वास्थ्य सेवा सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

ग्लोबल पर्वत समाजका अध्यक्ष गुणराज शर्माको अध्यक्षता र सचिव कमल लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजमा सकारात्मक योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा अझ बलियो बनाउने सन्देश दिइएको थियो। साथै, यस्ता पहलले अन्य व्यक्तिहरूलाई पनि जनहितका काममा प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।

Logo