काभ्रेपलाञ्चोक।अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा स्तरोन्नति कार्य सुरु गरिएको छ। सडक पक्की (कालोपत्र) गर्ने कामलाई तीव्र बनाउन सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार चैत ७ देखि २० गतेसम्म राति ६ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गरिनेछ। यस अवधिमा टिपर तथा अन्य मालवाहक सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा रोक लगाइएको छ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण रोकिएको काम नयाँ ठेक्कामार्फत अघि बढाइएको हो। करिब ४ किलोमिटर लामो उक्त सडकमध्ये चैत महिनाभित्र २.५ किलोमिटर र बाँकी वैशाखसम्म कालोपत्र गर्ने लक्ष्य राखिएको छ।
सीएनएवान काली जेभीसँग करिब रु ३१ करोड ५६ लाख (भ्याटबाहेक) लागतमा १४ महिनाभित्र काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको छ। हाल साना संरचना तथा टेवा पर्खाल निर्माण भइरहेका छन्।
यो सडक अरनिको राजमार्गको महत्वपूर्ण खण्ड हो, जसले धुलिखेललाई चीन सीमा तातोपानी नाका तथा अन्य जिल्लाहरूसँग जोड्छ। स्तरोन्नतिसँगै सडकको भारवहन क्षमता बढाउन सिमेन्ट मिश्रित बेस र दुई चरणको कालोपत्र (डीबीएम र आस्फाल) गर्ने योजना रहेको कार्यालयले जनाएको छ।































प्रतिक्रिया