झापा। उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने उद्देश्यले ‘जीवन रक्षा होम केयर’ झापामा सञ्चालनमा आएको छ।
पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा केही साथीहरूसँग मिलेर संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका हुन्। हाल यो सेवा झापाभर विस्तार भएको र कोशी प्रदेशका अन्य जिल्लामा पनि विस्तार भइरहेको छ।
अस्पताल जान नसक्ने तथा अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि पेन म्यानेजमेन्ट, शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेजस्ता सेवा घरमै उपलब्ध गराइन्छ। क्यान्सरलगायत दीर्घरोगका बिरामीलाई पनि यो सेवा उपयोगी बनेको छ।
टोलीमा चिकित्सकसहित १५ जनाभन्दा बढी नर्स, हेल्थ असिस्टेन्ट तथा कर्मचारी छन्। आवश्यक परे एम्बुलेन्स, अल्ट्रासाउन्ड, इसिजी, ड्रेसिङलगायत उपकरण लिएर घरमै पुग्ने व्यवस्था छ। रगत, पिसाब, दिसाजाँचका लागि नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरेर रिपोर्ट घरमै उपलब्ध गराइन्छ।
होम केयरले भेन्टिलेटरसहितको एम्बुलेन्समार्फत गम्भीर बिरामीलाई काठमाडौँ, विराटनगर, धरान र सिलीगुढीका अस्पतालसम्म सुरक्षित रूपमा पुर्याउने सेवा पनि दिँदै आएको छ। साथै, अस्पतालमा भर्ना भएका बिरामीका लागि कुरुवा सेवा समेत उपलब्ध छ।
सेवा शुल्क सामान्य ड्रेसिङका लागि रु ३०० देखि ३५० सम्म र डाक्टर भिजिटका लागि न्यूनतम शुल्क तोकिएको छ। संस्थाले वृद्धाश्रममा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ।
बिर्तामोडबाट सुरु भएको सेवा विराटनगरमा विस्तार भइसकेको छ भने धरानमा विस्तार गर्ने तयारी छ। संस्थाले निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।































प्रतिक्रिया