काठमाडौं ।
सरकारले राष्ट्रिय जनगणना ०७८ का लागि देशभर ४३ हजार गणक र उनीहरुको समन्वयका लागि ९ हजार सुपरिवेक्षक कर्मचारी परिचालन गर्ने भएको छ ।
सरकारले नेपालमा करीव ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको हो । उक्त जनगणनाका लागि सरकारले विभिन्न तयारी गरिरहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताएका छन् ।
यसपटक जनगणना गर्दा विगतको वर्षमा जस्तै संख्या मात्रै आधारित नभइ आर्थिक, सामाजिक लगायतका पक्षबारे समेत विस्तृत अध्ययन गरिने भएको छ । यसरी जनगणनामा पहिलो पटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्यांक संकलन पनि गरिने महानिर्देशक श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार जनगणनाबाट नेपालमा घरपरिवारको संख्या करिव ७० लाख पुग्ने र जनसंख्या ३ करोडभन्दा बढी नाघ्ने प्रक्षेपण गरेको छ । राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या ३ करोड १ लाख ४२ हजार २६६ रहेको छ ।
जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष ०७६/७७ बाटै शुरु गरिएको थियो । चालु आर्थिक वर्षमा जनगणनाको तयारी सक्ने लक्ष्य रहेको छ । विभागले ०७८ सालको जेठ २५ देखि असार ८ गतेसम्म हरेक घरमा पुगेर जनगणना गर्ने भएको छ । जनगणनाको कामलाई सहजीकरण र व्यवस्थित गर्न केन्द्रदेखि वडास्तरसम्म विभिन्न समिति बन्नेछन् । निर्देशक समिति, समन्वय समिति, प्राविधिक समिति, विषयगत समिति, प्रदेश समिति, स्थानीय तहस्तरीय समिति र वडास्तरीय सहजीकरण समितिसमेत बन्ने भएको छ ।
त्यस्तै, जनगणनाका गर्न जाँदा गणकहरुले विभिन्न तीन प्रकारका प्रश्न सोधिने भएको छ । घरपरिवार तथा लगत सम्बन्धी २५ वटा प्रश्न सोधिनेछ । मूल प्रश्नावलीमा विभिन्न ५५ वटा प्रश्न सोधिने भएको छ । यो पटक सामुदायिक प्रश्न समेत सोध्ने तयारी छ ।
महानिर्देशक श्रेष्ठका अनुसार वडामा राजस्व संकलनको स्रोत, कृषि उपज, तथा गैरकृषि उत्पादन र निकासीको अवस्था, वडाको आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा सुविधाको पहुँच, विपद सम्बन्धी विवरण समेत संकलन गरिने भएको छ ।
व्यक्तिगत प्रश्नतर्फ घरसम्बन्धी विवरण, कृषिमा प्रयोग भएको जग्गा र क्षेत्रफल, पशुपंक्षी, वित्तीय सुविधा, पहुँच, व्यवसायिक शिक्षा र तालिमप्राप्त व्यक्ति, सरकारी अनुदानमा बनेका घरको समेत विवरण संकलन गरिने भएको छ । घरपरिवारले प्रयोग गरेका सुविधा, खानेपानी, खाना पकाउने इन्धन, शौचालय, टिभी, फोन, महिनाका नाममा भएका घर जग्गा, घरेलु उद्योगको विवरण, विदेशमा रहेका आफन्त, परिवारका सदस्यले गर्ने काम, काम नगर्ने भए त्यसको कारणसमेत खोजी गरिने भएको छ ।
नेपालमा चन्द्रशमशेरको पालामा विसं १९६८ सालमा पहिलो पटक जनगणना सुरु गरिएको थियो । यसरी सुरु भएको जनगणना विंसं २००८ मा भने जनगणना राणाविरुद्धको आन्दोलनका कारण रोकिएको थियो । जनगणना रोकिएपछि २००९ देखि २०११ सम्म सञ्चालन गरिएको थियो । यो वर्ष पहिलो पटक वडास्तरीय आर्थिक तथ्यांक संकलन समेत गरिने भएको छ ।































प्रतिक्रिया