काठमाडाैं । राजधानीको धुवाँधूलो, ट्राफिक जाम र कोलाहलबाट केही पर, भक्तपुरको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको दुवाकोट, जहाँ शीतल हावा चल्छ, जहाँ बिहानीको पहिलो घामसँगै नयाँ आशा पलाउँछ । र, यहीँ सञ्चालनमा आएको छ, काठमाडौं मेडिकल कलेजको दोस्रो युनिट ।
वर्षौँदेखि नागरिकको भरोसा जित्दै आएको काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज, विराटनगरको अनुभव साथमा लिएर, अझ परिस्कृत, अझ आधुनिक र विशेषज्ञ सेवासहित उपचारको नयाँ अध्याय आजबाट दुवाकोटमा सुरु भएको हाे ।
तीन सय शय्याको क्षमतासहित सञ्चालनमा आएको यो अस्पताल केवल भवन मात्र होइन—हजारौँ बिरामीको आशा हो, परिवारको भरोसा हो, र जीवन जोगाउने दृढ संकल्पको केन्द्र हो । यहाँ चौबीसै घन्टा विशेषज्ञ चिकित्सकको निगरानीमा सम्पूर्ण उपचार सेवा उपलब्ध छन् । रोग पहिचानदेखि उपचारसम्मका सबै प्रक्रिया अत्याधुनिक उपकरण, प्रविधि र दक्ष चिकित्सकद्वारा गरिने अस्पतालले जनाएकाे छ ।
मुटु तथा रक्तनलीसम्बन्धी जटिल समस्याको समाधानका लागि यहाँ अत्याधुनिक क्याथल्याब सेवा उपलब्ध छ जसले जीवनका संवेदनशील क्षणमा समेत नयाँ सम्भावनाको ढोका खोल्छ । क्याथल्याबमार्फत हार्ट अट्याक अर्थात् हृदयघात हुँदा बिनाशल्यक्रिया नसाबाट मुटुसम्म तार र बेलुन पुर्याई बन्द नसा खोल्ने र स्टेन्ट राख्ने काम गरिन्छ । त्यस्तै, मुटुको धड्कन बन्द भएका बिरामीका लागि पेस मेकर राख्ने तथा भल्ब जाम भएका बिरामीको भल्ब बिनाअपरेसन खोल्ने प्रविधि पनि यसमा उपलब्ध छ । यो प्रविधिमार्फत् मस्तिष्कमा रक्तस्राव अर्थात् ब्रेन हेमरेज हुँदा पनि बिना शल्यक्रिया उपचार सम्भव छ ।
शरीरका अन्य भागमा गुजुल्टिएका वा बन्द भएका रक्तनलीहरू खोल्ने, सीधा पार्ने र स्टेन्ट राख्ने कामसमेत यही प्रविधिबाट गरिन्छ । मिर्गौलातर्फ जाने बन्द नली खोल्ने उपचार पनि यहाँ सम्भव छ । यस्तो अत्याधुनिक क्याथल्याब सेवा उपलब्ध हुनु यस क्षेत्रकै गौरवको विषय हो । यहाँ ईआरसीपी सेवा पनि उपलब्ध छ, जसमार्फत बिना शल्यक्रिया पित्तनलीमा जमेको ढुंगा निकालिन्छ ।
सबै प्रकारका शल्यक्रियाका लागि छुट्टछुट्टै अत्याधुनिक मोडुलर अपरेसन कक्षहरू तयार छन्, जहाँ विज्ञान र सीपको उत्कृष्ट संयोजनले जटिलभन्दा जटिल शल्यक्रियासमेत सफल पारिन्छ । मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि दिने र लिने दुवैको शल्यक्रिया एकै समयमा सहज रूपमा सम्पन्न गर्न सकिने, आपसमा जोडिएका अत्याधुनिक अपरेसन कक्षहरू उपलब्ध छन् ।
आमा र शिशुको सुरक्षालाई विशेष प्राथमिकता दिँदै स्त्री तथा प्रसूति सेवा सञ्चालनमा छ । नवजात शिशुका लागि भेन्टिलेटरसहितको एनआईसीयू सेवाले जीवनको सुरुवात सुरक्षित बनाइरहेको छ । पेट तथा आन्द्रासम्बन्धी रोगको विशेष उपचारदेखि दन्त सेवासम्मका हरेक उपचारमा विशेषज्ञ डाक्टरहरू अत्याधुनिक उपकरणका साथ सहज रुपमा उपलब्ध छन् ।
यहाँ उपलब्ध इन्डोस्कोपी, कोलोनोस्कोपी, ईएनटी जाँच, एक्स–रे, भिडियो एक्स–रे, एमआरआई र सीटी स्क्यानजस्ता आधुनिक परीक्षणहरूले रोगको सही पहिचान गर्न मद्दत गर्छन् । निःशुल्क डायलाइसिस सेवाले उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाएको अस्पतालले जनाएकाे छ ।
सरकारबाट उपलब्ध स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, विपन्न तथा आमासुरक्षा कार्यक्रमहरूले अस्पताललाई उपचार केन्द्र मात्र नभई सामाजिक उत्तरदायित्व बोकेको संस्थाका रूपमा स्थापित पनि गरेको छ ।































प्रतिक्रिया