पाँचथर। हिलिहाङ गाउँपालिकामा गरिएको स्वास्थ्य परीक्षणमा १२ प्रतिशत मानिसमा नसर्ने रोग देखिएको छ। ३० वर्षभन्दा माथिका ४४३ जनाको परीक्षण गर्दा मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्या भेटिएको हो।
नियमित स्वास्थ्य जाँच नगर्ने, आर्थिक अवस्था कमजोर हुने र दैनिक काममा व्यस्त रहने कारण धेरैले रोग लुकाएर बसेको अवस्था देखिएको छ। परीक्षणका क्रममा यस्ता व्यक्तिलाई पहिचान गरी परामर्श र उपचार सुरु गरिएको छ।
गाउँपालिकाका अनुसार धेरै मानिस गम्भीर समस्या भएपछि मात्रै अस्पताल जाने प्रवृत्तिका कारण रोग जटिल बन्दै गएको छ। त्यसैले घरदैलोमै पुगेर खोजपड्ताल अभियान चलाइएको हो।
मधुमेह र उच्च रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरण भइरहेको छ। साथै, वडास्तरमा ‘सेटलाइट क्लिनिक’मार्फत प्रत्येक महिना दुई दिन स्वास्थ्य सेवा र सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।
यही क्रममा चार जनामा कालाजार र छ जनामा क्षयरोग पनि फेला परेको छ। पहाडी क्षेत्रमा कालाजार देखिनु असामान्य मानिए पनि संक्रमित भेटिएपछि थप सतर्कता बढाइएको छ।
गाउँपालिकाले नियमित परीक्षण, उपचार र सचेतनालाई निरन्तरता दिँदै नसर्ने रोग नियन्त्रणमा जोड दिएको छ।





























प्रतिक्रिया