दुवाकोटमा केएमसीको दोस्रो युनिट सञ्चालनमा, अत्याधुनिक उपकरणसहित सेवा दिने

दुवाकोटमा केएमसीको दोस्रो युनिट सञ्चालनमा, अत्याधुनिक उपकरणसहित सेवा दिने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । भक्तपुरको ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको दुवाकोटमा काठमाडौं मेडिकल कलेज (केएमसी)को दोस्रो युनिट औपचारिक रुपमा सञ्चालनमा आएको छ । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको अनुभव र प्राविधिक सहयोगमा सुरु गरिएको उक्त अस्पताल तीन सय शय्याको क्षमतासहित सेवा विस्तार गरिएको हो।

आइतबार केएमसीका अध्यक्ष डा. सुनिल शर्माको जन्मोत्सवको अवसरमा दुवाकोटमा केएमसीको दोस्रो युनिटको समुद्घाटन गरिएको हो । कार्यक्रममा चाँगुनारायण नगरपालिकासँग अस्पतालले उपलब्ध गराउने सेवा सुविधासम्बन्धी सम्झौता समेत गरिएको छ । जसअन्तर्गत चाँगुनारायण नगरपालिकाका स्थानियलाई जुनसुकै उपचार गराउँदा पनि २५ प्रतिशत छुट दिने सम्झौता भएको छ । साथै १०० जना विपन्न बिरामीको १०० प्रतिशत छुट सहित उपचार गर्ने सहमति पनि भएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस नेतासमेत रहेका डा. शर्माले चाँगुनारायणका नागरिकलाई बिना कष्ट आधुनिक उपकरण र स्वास्थ्य सेवा पद्धति सहितको उपचार सुविधा उपलब्ध गराउने उद्देश्यले केएमसीको दोस्रो युनिट दुवाकोटमा सञ्चालनमा ल्याइएको जानकारी दिए । निकै कठिन मानिने शल्यक्रिया र स्वास्थ्य सेवाहरु नागरिकको घर दैलोमा सम्भव गराउन अहोरात्र खटिने प्रतिबद्धता जनाएका छन् ।

साथै डा. शर्माले भविष्यमा केएमसी सिनामंगललाई कर्पोरेट बनाउने र दुवाकोटस्थित केएमसीको दोस्रो युनिटलाई भने सर्वसाधरणको सेवाका लागि निः शुल्क वा सशुल्क सञ्चालन गर्ने योजना पनि सुनाएका छन् । भक्तपुरको दुवाकोटमा मात्रै नभई देशका हुम्ला, जुम्लालगायतका दुर्गम जिल्लाहरुमा समेत अस्पतालको सेवा बिस्तार गर्ने योजना रहेको पनि शर्माले बताएका छन् ।

योसँगै अस्पतालमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा आकस्मिकदेखि नियमितसम्मका उपचार सेवा उपलब्ध हुने छन्। रोग पहिचानदेखि उपचारसम्मका सम्पूर्ण प्रक्रिया अत्याधुनिक उपकरण र प्रविधिमार्फत सञ्चालन गरिने अस्पतालले जनाएको छ।

अस्पतालमा मुटु तथा रक्त नलीसम्बन्धी जटिल रोगको उपचारका लागि क्याथल्याब सेवा सञ्चालनमा आएको छ। उक्त प्रविधिमार्फत हृदयाघात भएका बिरामीको बिना शल्यक्रिया बन्द नसा खोल्ने, स्टेन्ट राख्ने, पेसमेकर जडान गर्ने तथा भल्भसम्बन्धी समस्या समाधान गर्ने उपचार उपलब्ध रहेको अस्पतालले जनाएको छ। यसै प्रविधिबाट मस्तिष्कमा रक्तस्राव (ब्रेन हेमरेज) तथा शरीरका अन्य भागका अवरुद्ध रक्त नलीसम्बन्धी समस्याको उपचार पनि सम्भव रहेको बताइएको छ। मिर्गौलातर्फ जाने नसा खोल्ने उपचारसमेत यहाँ उपलब्ध छ।

अस्पतालमा ईआरसीपी सेवा पनि सञ्चालनमा छ, जसबाट पित्त नलीमा जमेको ढुङ्गा बिना शल्यक्रिया निकाल्न सकिन्छ। सबै प्रकारका शल्यक्रियाका लागि अत्याधुनिक मोडुलर अपरेसन कक्षहरू निर्माण गरिएका छन्। मिर्गौला तथा कलेजो प्रत्यारोपणका लागि आवश्यक पूर्वाधारसहित दिने र लिने दुवै पक्षको शल्यक्रिया एकै समयमा गर्न मिल्ने व्यवस्था गरिएको छ।

स्त्री तथा प्रसूति सेवा, नवजात शिशुका लागि भेन्टिलेटरसहितको एनआईसीयू सेवा, पेट तथा आन्द्रासम्बन्धी रोगको उपचार, दन्त सेवा लगायत विभिन्न विशेषज्ञ सेवा अस्पतालमा उपलब्ध छन्।

त्यसैगरी, इन्डोस्कोपी, कोलोनोस्कोपी, ईएनटी जाँच, एक्स–रे, भिडियो एक्स–रे, एमआरआई र सीटी स्क्यानजस्ता आधुनिक परीक्षण सेवा सञ्चालनमा छन्। निःशुल्क डायलिसिस सेवासमेत अस्पतालले उपलब्ध गराएको छ। नेपाल सरकारअन्तर्गतका स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, विपन्न तथा आमा सुरक्षा कार्यक्रममार्फत पनि सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ। सुविधा सम्पन्न क्याबिन, चौबीसै घण्टा आकस्मिक सेवा, औषधालय र एम्बुलेन्स सेवासहित अस्पतालले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

Logo