काठमाडौँ
अहिलेकै जसरी इन्धनको माग बढ्दै गए भण्डारण क्षमता आगामी ६ वर्षमा शून्यमा पुग्ने भएको छ । हाल मासिक २० प्रतिशतका दरले इन्धनको माग बढिरहेको छ । नेपाल आयल निगमसँग ७१ हजार किलोलिटर इन्धन भण्डारण गर्न सक्ने भण्डार गृह छ ।
तर प्राविधिक दृष्टिकोणले त्यस परिमाण मध्ये करिब १० प्रतिशत इन्धन वर्षै भरि ट्यांकीमै मौज्दात गरी राख्नु पर्छ । ७१ हजार किलोलिटर मध्ये १० प्रतिशत अन पम्पवेल काटेर बाँकी ६५ हजार किलोलिटर निगमसँग मौज्दात रहन्छ । यही ६५ हजार किलोलिटर इन्धन देशभर खपत हुँदै आएको छ । इन्धनको माग बढ्दै जाने र त्यो अनुपातमा भण्डार गृहको क्षमता विस्तार नभए आगामी आर्थिक वर्ष २०८०/८१ मा भण्डारण क्षमता शून्यमा झर्ने निगमले आँकलन गरेको छ । ग्याँसको भण्डारणगृह निगमसँग शून्य छ ।
‘यसरी माग बढ्दै जाने हो र भण्डारण क्षमता विस्तार नगर्ने हो भने अबको ६ वर्षमा भण्डारण क्षमता शून्यमा झर्नेछ’, निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘यो विषयलाई संवेदनशील भएर समयमै सोच्न आवश्यक छ ।’ विकास निर्माण, सवारीसाधनको बढ्दो चाप, उद्योगमा हुने खपतका साथै प्रदेश सरकार निर्माण हुँदा सवारीसाधनको संख्या थपिनुका साथै विकास निर्माण पनि अत्यधिक गतिमा बढ्ने भएकाले सोही अनुपातमा इन्धनको माग समेत थपिने निगमको ठहर छ । उनका अनुसार आगामी ६ वर्षको वृद्धिदरलाई आधार मान्दा ९० दिन (३ महिना) लाई पुग्ने गरी कम्तीमा १० लाख किलोलिटर इन्धनको र दुई लाख १० हजार मेट्रिक टन खाना पकाउने एलपीजी ग्याँसको मासिक भण्डारण क्षमताको भण्डारगृह निर्माण गर्नु पर्ने आवश्यक छ ।
भट्टराईका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मासिक पेट्रोलको माग ७४ हजार किलोलिटर, डिजेल दुई लाख २१ हजार किलोलिटर, मट्टीतेल दुई हजार पाँच सय किलोलिटर र हवाई इन्धन तीन लाख ३५ हजार किलोलिटरमा पुग्नेछ । यसरी त्यो वर्षको मासिक कुल इन्धनको माग तीन लाख ३३ हजार किलोलिटरमा पुग्नेछ । अहिले मासिक २० प्रतिशतले माग वृद्धि भएर पेट्रोल ३८ हजार किलोलिटर, डिजेल एक लाख २५ हजार किलोलिटर, मट्टीतेल एक हजार आठ सय किलोलिटर र हवाई इन्धन १८ हजार किलोलिटर मासिक खपत भइरहेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया