बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

केन्द्रबिन्दु
18
Shares

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको छ । भिरालो जमिनमा सिँढीजस्तो तहको ढाँचामा स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले सिरुबारीमा वर्षायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि अल्पकालीन रूपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने उक्त विधि अपनाएको हो । आयोजना प्रमुख तेजस्वी शर्माले अस्थायी रूपमा सिरुबारीको पहिरो रोकथाम गरेर आगामी वर्षामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालन गरिने जानकारी दिए ।

“सिरुबारीको ३०० मिटर दूरीको पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक रु ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रूपमा पहिरो रोकथाम सुरु गरेको हो,” उनले भने, “भिरालो पाखाको पहिरोलाई सिधैँ सडकमा खस्न नदिनका लागि डोजर परिचालन गरेर काम थालिएको छ ।”

सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकभन्दा तल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता वर्षायाममा सिरुबारीको सडकमाथिबाट पहिरो खसेर दैनिकजसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याउने कन्टेनर, मुस्ताङ जाने–आउने पर्यटक, तीर्थयात्री र स्थानीय बीच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकका अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिए पनि सबैभन्दा ठूलो सिरुबारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन ।

सडकभन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्याएर पहिरोलाई सिधैँ खस्न नपाउने गरी व्यवस्थापन गरिएको छ । करिब १७ मिटर फराकिलो पारिने सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको १० मिटरमा पर्खाल लगाएर पहिरो थुप्रिने ठाउँ बनाइने आयोजना प्रमुख शर्माले बताए ।

Logo