काभ्रेपलाञ्चोक। विपद् जोखिम बढ्दै जाँदा काभ्रेपलाञ्चोकमा स्थानीयस्तरमै प्रतिकार्य क्षमता बढाउने अभियान तीव्र बनाइएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बलको १५ नं गणले सञ्चालन गरेको एक वर्षे अभियानमार्फत तीन हजारभन्दा बढीलाई विपद् व्यवस्थापन तथा प्रतिकार्यसम्बन्धी तालिम दिइएको छ ।
जिल्लाका १३ स्थानीय तहका १३५ वडामा पुगेर सञ्चालन गरिएको तालिमबाट तीन हजार ३६५ जनालाई मनसुनजन्य तथा अन्य विपद् सूचकबारे जानकारी दिँदै स्वयंसेवकका रूपमा तयार पारिएको छ । साथै, १७ शैक्षिक संस्थाका एक हजार ३४३ विद्यार्थीलाई विपद् सचेतनामूलक अभ्यास गराइएको छ ।
स्थानीय तहसँगको सहकार्यमा जोखिम न्यूनीकरण, पूर्वतयारी र आपत्कालीन अवस्थामा कसरी काम गर्ने भन्ने विषयमा तालिम केन्द्रित गरिएको छ । समुदायमै आधारित ‘पहिलो प्रतिक्रिया दिने समूह’ तयार गर्ने उद्देश्यले विभिन्न वर्गलाई समेटिएको छ ।
मनसुन लक्षित कार्यक्रमअन्तर्गत जोखिमयुक्त बस्ती, विद्यार्थी र महिला समूहलाई प्राथमिकतामा राखेर प्रशिक्षण सञ्चालन गरिएको छ । यसले विपद् हुँदा बाह्य सहयोग कुर्नु भन्दा अघि स्थानीय स्तरमै प्रारम्भिक प्रतिकार्य सम्भव बनाउने लक्ष्य राखिएको छ ।
गत असारमा नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा अस्थायी उद्धार बेस क्याम्प स्थापना गरिएको थियो । २५ जनाको टोली र आवश्यक सामग्रीसहित तयार गरिएको उक्त क्याम्पले बाढीपहिरो तथा सडक अवरोधजस्ता घटनामा छिटो उद्धार र राहतमा सहयोग गर्ने काम गरिरहेको छ ।
बिपी राजमार्ग आसपासका उच्च जोखिम क्षेत्रलाई लक्षित गर्दै सुरक्षा निकाय, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरी आकस्मिक अवस्थामा तुरुन्त परिचालन हुने व्यवस्था मिलाइएको छ । यसले विपद् व्यवस्थापनलाई कागजी योजनाबाट बाहिर ल्याएर व्यवहारमै लागू गर्ने प्रयासलाई देखाएको छ ।





























प्रतिक्रिया