कर्णाली। कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यहाँका स्थानीय तहहरूलाई सहिद स्मृति र जीवन निर्वाह विशेष भत्ताको विवरण तथा प्रतिवेदन पठाउन ताकेता गरेको छ ।
मुख्यमन्त्री कार्यालयले सशस्त्र सङ्घर्ष, जनआन्दोलन र प्रदेश प्राप्तिका लागि भएका आन्दोलनमा सहिद तथा बेपत्ता परिवारका हकवालालाई प्रदान गरिँदै आएको सहिद स्मृति भत्ता र घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई दिइँदै आएको जीवन निर्वाह विशेष भत्तासम्बन्धी विवरण माग गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस महिनासम्म वितरण गरिएको भत्ताको प्रतिवेदन तथा माघपछिको अवधिमा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको आवेदन सङ्कलन गरी यकिन विवरण पठाउन निर्देशन दिएको छ ।
‘सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१’ र ‘घाइते अपाङ्गता भएका व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता वितरण कार्यविधि २०८१’ अनुसार अनुसूची १ बमोजिम माघदेखि असार मसान्तसम्म भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको आवेदन सङ्कलन तथा यकिन गरी अनुसूची २ अनुसारको ढाँचामा विवरण पठाउन परिपत्र गरिएको छ ।
साउनदेखि पुस महिनासम्म वितरण गरिएको सहिद स्मृति तथा जीवन निर्वाह विशेष भत्ताको विवरण र प्रतिवेदन यही चैत १५ गतेभित्र पठाइसक्नुपर्नेछ । त्यसपछि प्राप्त विवरणका आधारमा सम्बन्धित निकायबाट रकम निकासा गरिनेछ।































प्रतिक्रिया