विसं २०७२ साल वैशाख १२ गते नेपालमा गएको भूकम्पपछि एकाएक चर्चामा आएका धुमुर्स अर्थात सिताराम कट्टेल सामाजिक अभियान्ताका रुपमा स्थापित भएका छन् । तीनवटा बस्ती निर्माण गरिसकेका उनी रौतहटको सन्तपुरमा अर्को बस्ती तयार गरेर हस्तान्तरणको क्रममा छन् । एकीकृत नमुना बस्ती बनाएर पीडितलाई बास दिँदै आएका उनीसँग केन्द्रबिन्दु डटका लागि संवाददाता प्रेम कुमार श्रेष्ठले गरेको कुराकानी
१. अभिनयलाई छोडेर एकपछि अर्को गर्दै नमुना बस्ती बनाउनु भयो । यसै क्रममा एकीकृत नमुना सन्तपुर वस्ती कहिले हस्तान्तण गर्ने योजना बनाउनु भएको छ ?
– हामीले विसं २०७४ माघ २४ गते एकीकृत नमुना सन्तपुर वस्ती निर्माण गर्ने घोषण गर्दा नै हस्तान्तण मिति उल्लेख गरेका थियौँ । यसै अनुरुप माघ २१ गते हस्तान्तण गर्ने सार्वजनिक गर्यौ। पछिल्लो समयमा आएर केही प्रविधिक समस्याले २१ गते नै हस्तान्तण गर्न नसक्ने भयौं । यति हुँदाहुँदै पनि हामी शिल्यान्यासमा तोकिएको दिनभन्दा अगाडि नै हस्तान्तण गर्ने योजनामा लागेका छौँ ।
२. नमुना वस्ती बनाउन कहाँबाट रकम जुटाउनु हुन्छ ?
– हामीले सुरुको समयमा घर बेचेर पैसा जुटायौँ । पछिल्लो समयमा पनि हामीले नमुना वस्ती बनाउने क्रमलाई अगाडि बढाउदै गयौँ । हामीले योजना मात्र बनाएका हौँ, नमुना वस्ती बनाउनका लागि आवश्यक पर्ने रकम स्वदेश तथा विदेशमा बस्ने नेपाली दाजुभाइले सहयोग गर्दै जानु भएको हो । एकीकृत नमुना सन्तपुर वस्ती बनाउदा अझै करिब ९० लाख रकम अपुग भएको छ । यसका लागि पनि हामीले सहयोगको अपेक्षा गरेका छौँ ।
३. तपाईको ‘ड्रिम प्रोजेक्ट’ नमुना नेपाल कस्तो हुनेछ ?
– पाँचौ परियोजना नमुना नेपाल बनाउन हामीले ललितपुरमा जग्गा हेरिसकेका छौँ । यस नमुना नेपालमा हामीले नेपालमा भएका सबै महत्त्वपूर्ण स्थानलाई राख्ने छौँ । यसमा नेपालको सबै विशेषतालाई समावेश गर्ने हुनाले सरकारले पनि सहयोग गरिदियोस भन्ने चाहेका छौँ ।
४. तपाईले यस्ता काम गरेर सरकारलाई चुनौती त दिन खोज्नु भएको होइन ?
– होइन । हामीले गरेका यी काममा नेपाल सरकारको पनि साथ र सहयोग रहँदै आएको छ । सरकारले नक्सा पासदेखि लिएर आवश्यक पर्ने प्रसाशनिक काममा सहयोग गर्दै आएको छ । यो हाम्रो लागि गर्वको कुरा हो । चुनौती होइन ।
५. तपाईले यति धेरै काम गर्नु भयो, अबको योजना के छ ?
– अहिले सम्पन्न भएका यी कामहरु भावी योजनाको एक अंश मात्र हो । बाँकी काम त अझै आउदै छ । जो हामीले नमुना नेपाल बनाउने बाचा गरेका छौँ । नमुना नेपाल बनाउने काम नै मेरो भावी योजना हो ।































प्रतिक्रिया