काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णयमा पुगेपछि विवेकशील साझा पार्टी विवादमा परेको छ ।
कांग्रेस उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णय गरेपछि विवेकशील साझा विवादमा परेको हो । सामाजिक सञ्जालमा विवेकशील साझालाई कांग्रेसको भाइ भन्दै ब्यापक आलोचना भएको छ । खासगरी ‘भ्रष्टाचारको कसूरमा सजाय भुक्तान गरिसकेको व्यक्तिले पनि भविष्यमा चुनाव लड्न पाउनुपर्छ’ भनेर कांग्रेस नेता खुमबहादुर खड्काको पक्षमा सक्रिए भएका थिए, राधेश्याम । भ्रष्टाचारको विरोधी भन्न रुचाउने पार्टीले किन रोज्यो उनलाई ? यो पनि आम प्रश्न भएको छ ।
‘राष्ट्रिय सभाको चुनावमा हामीसँग चारवटा विकल्प थिए,’ प्रवक्ता सूर्यराज आचार्यले भने, ‘चुनावमा भागै नलिने, हार्ने निश्चित भएपनि आफ्नै उम्मेदवार उठाउने, वाम गठवन्धनले समर्थन गरेको उमेदवारलाई समर्थन गर्ने र नेपाली कांग्रसले समर्थन गरेको उमेदवारलाई समर्थन गर्ने ।’
आचार्यले विज्ञप्तीमार्फत भनेका छन्– पहिलो विकल्प, चुनावमा भाग नै नलिनु भनेको हामी जस्तो लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न आएको पार्टीलाई सुहाउने कुरा थिएन। साथै, आगामी दिनमा प्रदेश सभामा पनि हाम्रा चित्त बुझेका र नबुझेका हरेक विषयमा मतदानको प्रक्रियामा सामेल भएर वृहत राष्ट्रहितको पक्षपोषण गर्नु नै हाम्रो कर्तव्य हुने महसुस गरेका छौं।
दोस्रो विकल्प, हामीले आफ्नै उम्मेदवार उठाउन नागरिक समाजका केही प्रवुद्ध व्यक्तित्वहरुसँग गरेको छलफल सार्थक हुन सकेन। हामीले चाहेजस्तो व्यक्तित्वहरूले हामीप्रति सदभाव राख्दाराख्दै पनि साथ भने दिन सक्नुभएन।
तेस्रो विकल्प, वाम गठवन्धन आफुले समर्थन गरेको उम्मेदवारको बारेमा हामीसँग मनोनयन दर्ताको अन्तिम घडीमा मात्र सम्पर्कमा आयो र त्यतिञ्जेलसम्ममा नेपाली कांग्रेससँग हामी र नयाँ शक्ति पार्टीसहित भएर शुरु भएको कुराकानी निकै अघि बढिसकेको थियो। यद्यपि नेपाली कांग्रेसलाई हामीले उनीहरूले प्रारम्भिक रूपमा छलफलमा ल्याएका तर हाम्रो बुझाईमा राष्ट्रिय सभाका लागि अनुपयुक्त देखिने सम्भावित उमदेवारहरुप्रति हाम्रो समर्थन रहन नसक्ने प्रष्ट पारेका थियौं ।
चौथो विकल्प, नेपाली कांग्रेससँग उपयुक्त उम्मेदवारको विकल्पमा छलफल हुँदा हामीले अघि सारेका कतिपय स्वतन्त्र, प्रवुद्ध व्यक्तिहरू कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने सम्भावना देखिएन। नेपाली कांग्रेससँगै आवद्ध व्यक्तिहरूको चर्चा हुँदा राधेश्याम अधिकारी लगायतका केही नाम छलफलमा आयो र हामीले तुलनात्मकताको कसीमा हेर्दा उहाँहरूमध्ये कोहीलाई समर्थन हुनसक्ने बतायौं।
वास्तवमा हाल राष्ट्रिय सभामा अघि सारिएका उम्मेदवारहरूमध्ये समग्रतामा हेर्दा छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा राधेश्याम अधिकारी सक्षम छन् र भोलि राष्ट्रियसभामा विभिन्न जटिल विषयहरूलाई सूक्ष्म ढंगबाट केलाएर विवेकपूर्ण निर्णय लिनसक्ने क्षमता उनमा छ भन्ने हाम्रो विश्वास हो। यो देशका लागि अत्यन्त घातक ‘शिक्षा विधेयक’ ल्याइदा संसदमा पार्टीको निर्णयभन्दा विपरित गएर मतदान गर्ने तीनजना सांसदहरुमध्ये अधिकारी एक हुन् । केही समय अगाडि चर्चित लोकमानसिंह कार्की र सुशीला कार्कीमाथिको छुट्टाछुट्टै महाभियोग प्रकरणमा अधिकारीले खेलेको जनपक्षीय भूमिका र उनले संसदमा दिएका अभिव्यक्तिहरुको पनि यहाँ स्मरण गरिनु वान्छनीय हुन्छ ।
तथापि, ‘भ्रष्टाचारको कसूरमा सजाय भुक्तान गरिसकेको व्यक्तिले पनि भविष्यमा चुनाव लड्न पाउनुपर्छ’ भन्ने राधेश्याम अधिकारीको अभिव्यक्ति प्रति हामी पूर्ण रुपमा असहमत छौं । उहाँको त्यो धारणा एक कानुनविद्को हिसाबले विधिशास्त्रीय सिद्धान्तमा टेकिएर गरिएको तर्क हुनसक्ला तर हामी सो तर्कको ठिक विपरित भ्रष्टाचारी प्रमाणित भएका व्यक्तिलाई कडा सजायँका साथै राजनीतिबाट विमुख गरिनुपर्छ भन्ने मान्यता राख्दछौं । यद्यपि उनले चलाएको सैद्धान्तिक बहसका कारण उनको व्यक्तित्वका अन्य पाटाहरू र राष्ट्रियसभामा उनले खेल्न सक्ने संभाव्य सकारात्मक भुमिकालाई अवमूल्यन गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो।
नेपाली कांग्रेससँगको यो सहमति कुनै दीर्घकालीन सहकार्य नभई आसन्न राष्ट्रिय सभाको निर्वाचनका लागि मात्र रहेको कुरा स्मरण गराउन चाहन्छौं । सत्ता भित्र र बहिर रहँदा नेपाली कांग्रेसले पक्षपोषण गरेका खराब प्रवृत्तिको हामी सदैव विपक्षमा छौं, र पछि पनि विपक्षमा हुने छौं। तसर्थ, तटस्थ रहेर क्षणिक रूपमा हामी पृथक् देखिन त सक्थ्यौं, तर यससँगै हाम्रो निर्णयले राष्ट्रिय सभामा एकजना प्रवुद्ध व्यक्ति जाने र संसदीय प्रणालीमा महत्वपूर्ण मानिने ‘विपक्षी बेन्च’ लाई बलियो बनाउने एउटा सम्भावनालाई प्रकारान्तरले खेर फाल्ने काम हुने देखिएकोले आफ्नो उम्मेदवार नभए पनि प्रत्याशीहरु मध्येको उपयुक्त विकल्पको रुपमा राधेश्याम अधिकारीलाई रोजेका हौं ।































प्रतिक्रिया