काठमाडौं– प्रतिनिधिसभाको चुनावको माहौल नबन्दै गत भदौमै एमाले नेता योगेश भट्टराईले पहिलोपटक भनेका थिए– भावी प्रधानमन्त्री केपी शर्मा ओली हो । हामी उहाँकै नेतृत्वमा चुनावमा जाँदैछौं ।
माधव नेपाल समूहमा रहेका योगेशको अभिव्यक्ति जति अस्वभाविक लागेको थियो भन्दा बढी झट्का चाँही उनलाई चुनावपछि लाग्यो । ताप्लेजुङबाट चुनाव जितेर फर्केलगत्तै उनले फेरि भने– केपी ओली र पुष्पकमल दाहाल अब अभिभावकीय भूमिका रहनुपर्छ, नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ ।
योगेशको भनाइले तरंगमात्रै ल्याएन उनलाई विवादको भूमरीमा फसायो । एकाएक ओलीको नजिक पुगेका भट्टराई यही अभिव्यक्तिले टाढासम्म फ्याकिए । अध्यक्ष ओलीको विश्वासमा शंका उत्पन्न गरायो ।
योगेशको अभिव्यक्तिको अपब्याख्यामात्रै भएन, ओलीको प्रधानमन्त्रीत्वमा मन्त्री र सल्लाहकारको लाइनमा रहेका सिनियर युवा नेताहरु नै कडा विरोधमा उत्रिए । विष्णु रिमालले त उनलाई तल्लोस्तरमै झरेर ‘माकाः फुइ’सम्म भन्न भ्याए ।
स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले आन्तरिक विषय र पार्टी एकतासम्बन्धमा अभिव्यक्ति नदिन अपिल गरेपछि सार्वजनिक बहस त रोकियो, तर कोठे बहसमा यही विषय उठ्ने गरेको छ ।
रिमाल, कर्णबहादुर थापा, महेश बस्नेतलगायतका युवा नेताहरुसँगै जिल्लाबाट राजनीति गर्दै आएका नेता र सांसदहरु पनि विरोधमा उभिएका छन् ।
पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीले पनि नेतृत्व परिवर्तनको विषयमा कडा अभिव्यक्ति दिएका छन् । हस्तान्तरणका विधि प्रक्रिया पार्टीले खोज्नुपर्ने बताउँदै उनले तर त्यो बेला नभएको जिकिर गरे । ‘जुन विचार र नेतृत्वले जितेको छ, उसले नेतृत्व नगर्दै यो विषय किन उठाइयो थाहा छैन । उमेरका आधारले हस्तान्तरण गर्नुपर्ने हो र ? लोकतान्त्रिक मुल्य मान्यता, राष्ट्रिय स्वाधिनता र विकासका लागि केपी शर्मा ओलीलाई जनताले मत दिएका हुन् । त्यसलाई छाडौं, नयाँलाई दिऊँ भन्नुको तात्पर्य के हो ?,’ उनको आक्रोस छ, ‘कसलाई छाडौं भन्न खोजिएको हो ? कसलाई अब्बल देखाउन खोजिएको हो ? नेतृत्वलाई कमजोर पार्ने गरी र जनमतको अपमान हुने गरी आएका विचारलाई मान्नुपर्ने भन्ने छैन ।’
प्रधानमन्त्रीपत्नी आरजु राणालाई हराएका नारदमुनी राना पनि नेतृत्व परिवर्तनको विपक्षमा छन् । ‘जीवन्त पार्टीमा नेतृत्व हस्तान्तरण हुँदै जान्छ । एमालेजस्तो लोकतान्त्रिक पार्टीमा निरन्तर नेतृत्व हस्तान्तरण भएकै छ । तर, अहिले हस्तान्तरणको समय होइन । अहिलेको एमालेको पोजिसन आउनु भनेको केपी शर्मा ओलीको लागि विश्वासको मत हो । जनताले उहाँको पोस्टर देखेर मत दिएका छन्,’ उनको भनाइ छ ।





























प्रतिक्रिया