काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने तर कामका आधारमा मूल्याङ्कन गर्ने बताएका छन्।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकारलाई बधाई दिँदै जनताको हितमा काम गरेमा पूर्ण सहयोग रहने स्पष्ट पारे। उनले सरकारको कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिने बताए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मदनकुमारी शाह (गरिमा) ले संघीय लोकतान्त्रिक गणतन्त्र बलिदानीबाट प्राप्त भएको उल्लेख गर्दै सरकारको १०० दिने कार्यसूची अपूर्ण रहेको टिप्पणी गरिन्।
एमाले सांसद प्रेमप्रसाद दंगालले सरकारलाई बधाई दिँदै जनताको जीवनस्तर सुधार, राष्ट्रिय एकता र राष्ट्रियता सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए। उनले कार्की आयोगको प्रतिवेदनका आधारमा भएका पक्राउप्रति भने आपत्ति जनाए।
जसपा नेपालकी सांसद पूजा चौधरीले सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रयासलाई स्वागतयोग्य भन्दै सरकारको प्रयासमा समर्थन जनाइन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुरले गणतन्त्र संघर्षबाट प्राप्त भएको उल्लेख गर्दै बेरोजगारी समस्या अझै गम्भीर रहेको बताए।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले कार्की आयोगको छानबिन एकपक्षीय भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरे।
यसैबीच, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र वाचन गरेका छन्। साथै उपाध्यक्षको निर्वाचन चैत २३ गते र विषयगत समितिका सभापतिको निर्वाचन चैत २४ गते गर्ने कार्यतालिका तय गरिएको जानकारी पनि दिइएको छ।































प्रतिक्रिया