शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर पक्राउ

शरदकुमार गौचनलाई गोली हान्ने मुख्य सुटर पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ यहाँ पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताउनुभयो । अभियुक्त गुम्बेलाई भरतपुर महानगरपालिका वडा नं ६ गीतानगरबाट पक्राउ गरिएको हो ।

कार्कीले गौचन र तिवारीको दुवै घटनामा निज लामा संलग्न भएको बताउनुभयो । केही दिनयता सिआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो । गीतानगरको भित्री बस्ती क्षेत्रबाट गुम्बेलाई पक्राउ गरिएको हो । कार्कीले अपराधीलाई सिआइबीले छाड्दैन भन्ने कुरा कामले पुष्टि गरेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सोमबार साँझ अबेर निजलाई पक्राउ गरी सिआइबीले राति नै लामालाई काठमाडौँ लगेको बताउनुभयो । देशकै मध्यभाग भएकाले आपराधिक क्रियाकलापपछि अन्यत्र जान सहज होस् भन्नाका लागि अपराधी लुक्न चितवन आउने गरेको थापाले बताउनुभयो । 

गौचन हत्याकाण्डका प्रमुख योजनाकार समीरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । व्यवसायी गौचनको गत असोज २३ गते काठमाडौँ शान्तिनगरमा गोली हानी हत्या भएको थियो । उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए । 

तिवारीको रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा गत वर्ष पुसमा गोली प्रहार भएको थियो । देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । 

Skip This
Skip This
Logo