काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पंक्तिभित्रै एक-आपसमा भिडेर विरोधीको हतियार नबन्न कार्यकर्ताहरूलाई कडा निर्देशन दिएका छन् ।
प्रहरी हिरासतमा रहेकै बखत स्वास्थ्य समस्या देखिएपछि हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा उपचार गराइरहेका ओलीले अस्पतालको शय्याबाटै पार्टीका नेता तथा कार्यकर्ताका नाममा विशेष सन्देश पठाएका हुन् ।
एमाले केन्द्रीय सदस्य नगिन्द्र शाही ‘नेशनल’ का अनुसार अध्यक्ष ओलीले विरोधीसँग जुध्न डराउने तर आफ्नै सहयोद्धालाई समाप्त पार्न सक्रिय तत्वहरूप्रति सचेत रहन आग्रह गरेका छन् । उनले २३ र २४ गतेका घटनाहरूको सत्यतथ्य इतिहासमा कहिल्यै नपुरिने र त्यो छिट्टै जनमानसका सामु आउनेमा आफू विश्वस्त रहेको बताए ।
अध्यक्ष ओलीले एमालेमाथि विगतदेखि नै प्रहार हुँदै आएको स्मरण गर्दै अहिलेको अवस्थालाई ‘अस्थायी घेराबन्दी’ को संज्ञा दिएका छन्। “जनताले एमालेलाई कमजोर बनाउने परिस्थिति नहुँदा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरिरहेका छन्,” ओलीको सन्देश उद्धृत गर्दै शाहीले भने, “तर हामीले ती भ्रमका पर्दाहरूलाई च्यात्नुपर्ने बेला आएको छ।”
ओलीले आफ्नो पुरानो अडान ‘सत्यसँग नलड्ने र असत्यसँग नझुक्ने’ संकल्पमा कत्ति पनि विचलित नहुन र संघर्षलाई सधैं झैं जारी राख्न कार्यकर्तालाई उर्जा दिएका छन् । राष्ट्रियता रक्षा र समृद्धिको सपना साकार पार्न खोज्दा आफू विरुद्ध ज्यान लिने समेतका षड्यन्त्र भएको उल्लेख गर्दै उहाँले अहिलेको घेराबन्दीबाट नआत्तिन आग्रह गरे ।
अस्पतालको शय्याबाट पठाइएको सन्देशको अन्त्यमा अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई एकजुट भएर वास्तविकता उजागर गर्न र कुनै पनि हालतमा विरोधीको ‘मसाल’ बनेर आफ्नै जग नकाट्न विशेष अपिल गरेका छन् ।





























प्रतिक्रिया