आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन सुरु हुँदै, ३४ जिल्लामा चरणबद्ध कार्यक्रम

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन सुरु हुँदै, ३४ जिल्लामा चरणबद्ध कार्यक्रम

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। नेपाली सेनाले अवकाशप्राप्त सैनिकहरूको पुनर्मिलन, कल्याण र सेवा सुधारलाई लक्ष्य गर्दै भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि सुरु गर्ने भएको छ।

नेपाली सेनाले करिब ९० हजार अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारलाई लक्षित गर्दै भूतपूर्व सैनिक सम्मेलन सञ्चालन गर्न लागेको छ। आइतबारदेखि सुरु हुने यो कार्यक्रम चरणबद्ध रूपमा विभिन्न प्रदेश र जिल्लामा सञ्चालन हुनेछ।

सैनिक कल्याणकारी कोषमार्फत अवकाशप्राप्त सैनिकहरूको शिक्षा, स्वास्थ्य, स्वरोजगार, पुनःरोजगार तथा आवासजस्ता क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।

सेनाका अनुसार सम्मेलनले अवकाशपछि सैनिकहरूको आपसी भेटघाट, अनुभव आदानप्रदान तथा बहालवाला र पूर्वसैनिकबीच सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस वर्षको सम्मेलन ‘पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल भावसहित सञ्चालन गरिँदैछ। लुम्बिनी, गण्डकी, मधेस र बागमती प्रदेशका करिब ३३ हजार सहभागी हुने अनुमान गरिएको छ।

कार्यक्रम चैत २२ देखि वैशाख ४ गतेसम्म ३४ जिल्लामा चरणबद्ध रूपमा सञ्चालन हुनेछ। यस अवधिमा सहभागीहरूको गुनासो, सुझाव र आवश्यकताहरू संकलन गरी सम्बन्धित निकायमा सुधारका लागि प्रस्तुत गरिनेछ।

नेपाली सेनाले यस्ता सम्मेलनलाई सेवा र सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिँदै आएको जनाएको छ।

Skip This
Skip This
Logo