महासंघको चुनावी सरगर्मीः एसोसिएट उपाध्यक्षमा पाण्डे र श्रेष्ठबीच कडा टक्कर, यस्ता छन् एजेन्डा र टिम

महासंघको चुनावी सरगर्मीः एसोसिएट उपाध्यक्षमा पाण्डे र श्रेष्ठबीच कडा टक्कर, यस्ता छन् एजेन्डा र टिम

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन अब एक साता मात्र बाँकी छ । चैत २९ र ३० गते काठमाडौंमा हुने यो निर्वाचनले नयाँ नेतृत्व चयन गर्दैछ । यतिबेला वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने भएता पनि अन्य पदमा भने चुनावी मैदान निकै तातेको छ । अझ विशेषगरीः एसोसिएटतर्फको उपाध्यक्ष पदमा ।

एसोसिएटतर्फको उपाध्यक्ष पदमा एकातिर लामो समयदेखि पर्दा पछाडिबाट महासंघको रणनीति बनाउने र चुनाव जिताउने काम गर्दै आएका उद्योगी प्रबलजंग पाण्डे छन् भने अर्कातिर वर्तमान एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ जसले अघिल्लो पटक निकै कडा प्रतिस्पर्धा जितेर यो पद सम्हालिरहेकी छन् । दुवैको अनुभव र समर्थन फरक–फरक छ त्यसैले पनि यतिबेला महासंघका सदस्यहरूबीच को आउला त अब एसोसिएटतर्फको उपाध्यक्ष पदमा भनेर चर्चा र चासो बढेको छ ।

प्रबलजंग पाण्डे

पाण्डे महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । उनी सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष र लोम्स ग्रुप (औषधी तथा अन्य व्यवसाय) का निर्देशक छन् । इन्जिनियरिङ पढेका पाण्डेले सन् २०१० सम्म नेपाल टेलिकममा जागिर खाए । त्यसपछि पारिवारिक व्यवसाय सम्हाल्न निजी क्षेत्रमा प्रवेश गरे । पछिल्लो १६ वर्षयता सिमेन्ट, औषधी उद्योग, बैंकिङलगायत क्षेत्रमा सक्रिय छन् ।

महासंघमा उनको भूमिका निकै लामो र गहिरो छ । उनी तीन कार्यकाल कार्यकारी सदस्य रहिसकेका छन् । अघिल्ला निर्वाचनमा पूर्वअध्यक्ष भवानी राणा र हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको टिम बनाउन र जिताउन पछाडिबाट मुख्य रणनीतिकारको भूमिका खेलेका थिए । पटक–पटक आफ्नो भागमा आउने अवसर छोडेर अरूलाई सघाएका पाण्डे यसपालि भने आफैं अगाडि आएका छन् ।

उनले एसोसिएट क्षेत्रलाई मजबुत बनाउने, पर्यटन, उद्योग, व्यापार, स्टक मार्केट, ज्वेलरी र जलविद्युत क्षेत्रका सक्रिय उद्यमीलाई समेटेर सन्तुलित टिम बनाउने बताएका छन् । कर प्रणाली सुधार, नीतिगत स्थिरता, उद्योगलाई सस्तो बिजुली उपलब्ध गराउने जस्ता कुरा उनको मुख्य एजेन्डा छन् । उनको टिममा अभया मल्ल, अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, मनोज पौडेल, निकोलस पाण्डे, प्रियाराज रेग्मी, राजेशकुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, शक्तिकुमार बेगानी, सुशील थापा, सुयोस प्याकुरेल र उज्ज्वल श्रेष्ठ जस्ता व्यवसायी छन् ।

ज्योत्सना श्रेष्ठ

श्रेष्ठ नेपालकी सफल महिला उद्यमी हुन् । उनी हाल महासंघको एसोसिएट उपाध्यक्ष पदमा छिन् । २०८० मा रामचन्द्र संघई प्यानलबाट चुनाव लडेर उनले प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले हराउँदै यो पद जितेकी थिइन् । उनी नेपाल रत्न तथा आभूषण संघको पूर्वअध्यक्ष पनि हुन् । उनीसँग गहना व्यवसायमा लामो अनुभव छ । २०८१ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उनलाई ‘बोर्ड अफ ट्रेड’ को विज्ञ सदस्यमा नियुक्त गरेका थिए । यसपालि उनी चन्द्रप्रसाद ढकाल (हेमराज ढकाल) प्यानलबाट पुनः उम्मेदवार बनेकी छन् । आफ्नो कार्यकालमा सुरु गरेका अधुरा काम टुंग्याउने र एसोसिएट क्षेत्रको हितमा थप योगदान दिने उनको भनाइ छ । महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा श्रेष्ठले आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएकी छन् ।

निर्वाचनका लागि श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्यमा अभिनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप मखानी , शैलेन्द्र गुरागाई र सुनिलनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

दुवै प्यानलको तयारी तीव्र

पाण्डे महासंघको संरचना, चुनावी खेल र विभिन्न संघ–संस्थासँगको सम्बन्ध राम्रोसँग बुझेका छन् । उनी पहिले पटक–पटक उपाध्यक्ष बन्ने मौका आए पनि अरूलाई सघाएका थिए । अब भने पूर्ण तयारीका साथ अगाडि आएका छन् । त्यस्तै यता श्रेष्ठ पनि वर्तमान पदाधिकारीको लाभ र महिला उद्यमीको प्रतिनिधित्वलाई आफ्नो पक्षमा पार्न खोज्दैछिन् । दुवै उम्मेदवारले एसोसिएट सदस्यहरूलाई आफ्नो पक्षमा पार्न भेटघाट र छलफल तीव्र बनाएका छन् ।

Skip This
Skip This
Logo