चक्रासन:
ढाडको बलमा उत्तानो परेर सुत्ने । हातलाई शिर भन्दा माथी राख्ने । हात र खुट्टाको बलमा उत्तानो परेको शरीरलाई बिस्तारै उठाउने ।
यो आसन गर्नाले बृद्धावस्थामा ढाडको समस्या आउदैन भने शरीरलाई फूर्तिलो बनाउनुका साथै ढाड दुख्ने, टाउको दुख्ने समस्यालाई समाधान गर्छ । यो आसनले हात र खुट्टाका मांसपेशीलाई बलियो बनाउन मद्धत पनि गर्छ ।
धनुरासन:
पेटको बलमा घोप्टो परेर सुत्ने । दायाँ हातले दायाँ खुट्टा र वायाँ हातले वायाँ खुट्टालाई पछाडी ढाड तर्फवाट समाउने । यसरी समाएपछि दुबै हातले खुट्टालाई ढाड तर्फ अगाडी तान्ने प्रयास गर्ने ।
यो आसनले पेटमा लागेको बोसोलाई घटाउनुका साथै आन्तरिक अंगहरुको संचालन प्रकृयालाई सुदृढ बनाउछ । यसले पाचन क्रियालाई राम्रो गरेर मेरुदण्डको समस्या पनि हुन दिदैन । यो आसनले महिलाहरुमा रहेको मासिक धर्म नियमित नहुने र अन्य समस्यालाई पनि यो आसनले फाइदा गर्छ ।
हलासन:
उत्तानो परेर सुत्ने । दुबै खुट्टालाई एकै पटक उठाएर शिर भन्दा पछिल्लो भागमा लगेर जमिनमा छुवाएर केही समय अडिएर बस्ने । शरीरको अवस्था हलोको जस्तो भएको कारण यसलाई हलासन भनिएको हो ।
ढाड सम्बन्धि समस्या भएको बेलामा यो आसनलाई गर्नु हुदैन । यो आसनले मेरुदण्डको हड्डीलाई बलियो बनाउनुका साथै ढाडलाई लचिलो समेत बनाउछ । यसको नियमित अभ्यासले अजिर्ण हुने, कब्जियतको समस्या, थाइराइड, दम, कफ र रक्त विकारको समस्याहरु हुन दिदैन ।
बकासन:
दुबै हत्केलाले जमिनमा टेक्ने । कुईनोमा दुबै खुट्टाको घुडाँलाई राखेर हातको बलमा शरीरलाई जमिनमा नुछुवाएर केही बेर अडिने । यो आसन एकै पटकमा गर्न सकिदैन । निरन्तर र बिस्तारै मेहनत गर्दै गएमा सकिन्छ ।
यो आसनले हातको मांसपेशीलाई बलियो बनाउनुको साथै मुहारको कान्तिलाई बढाउन मद्धत गर्छ ।
पश्चिमोत्तासन:
खुट्टा सिधा गरेर बस्ने । टाउकोलाई झुकाएर घुडाँमा छुवाउने र हातले खुट्टाको पैतलालाई समाएर केही बेर स्थिर रहने ।
यो आसनले ढाडको समस्यालाई समाधान गर्नुका साथै पेटमा रहेका विकारहरुलाई बाहिर ल्याउन पनि मद्धत गर्छ । यो आसनले जठाराग्नीलाई जगाएर खानेकुरालाई पचाउन मद्धत गर्छ । बालबालिकालाई उचाई बढाउन यो आसन उपयोगी मानिन्छ ।
पवनमुक्तासन:
ढाडको बलले सुत्ने । एउटा खुट्टाको घुडाँलाई हातले फोल्ड गरेर चिउडोमा छुवाउने र हातको बलले तिघ्रालाई पेटमा थिच्ने । यो क्रियामा दुबै खुट्टलाई एकै पटक गरेर पनि गर्न सकिन्छ । तर ढाड कम्मरमा समस्या भएको ब्यक्तिले सकभर गर्नु हुदैंन ।
पवन भनेको वायु, मुक्त आसन अर्थात् शरीरमा रहेको नचाहिने वायुलाई यो आसनले शरीरवाट बाहिर निकाल्न मद्धत गर्छ । ग्याष्ट्रिक, खाना खाएको अपच हुने, शरीरमा धेरै ग्याँस निस्किरहने समस्या भएका ब्यक्तिहरुलाई यो आसन फाइदाजनक देखिन्छ ।
शलभासन:
पेटको बलमा सुत्ने दाहिने हातलाई दाहिने खुट्टाको तिघ्रा मुनि राख्ने । यस्तैगरी देब्रे हातलाई पनि देब्रे खुट्टाको तिघ्रा मुनि राख्ने । यो आसनमा दुई चरण रहेको छ । पहिलो चरणमा श्वास लिदैं दाहिने खुट्टा पछाडि उचाल्ने र श्वास छोड्दै तल लैजाने । एवं रितले पालै पालो गर्ने ।
शलभासनकै अर्को पोजमा दुबै खुट्टालाई एकै पटक श्वास लिएर माथि लैजाने र श्वास छोड्दै तल लैजाने गर्नपनि सकिन्छ ।
यो आसनले खुट्टा र पेटको मांसपेशीहरुलाई बलियो बनाउनुका साथै पेटको धेरै किसिमका समस्याहरुलाई समाधान गर्न मद्धत गर्छ ।
सेतुबन्धासन:
सेतु भनेको पुल हो भने बन्ध भनेको बाँध अर्थात् शरीरलाई पुलको रुपमा बनाएर बाँध बाँधेर बस्नु नै सेतुबन्धासन हो ।
ढाडको बलमा सुतेर खुट्टालाई कम्मरमा ल्याएर शरीरलाई उत्तानो पारेर उचाल्ने र हातलाई मुठ्ठी पारेर खुट्टाको विचमा लगेर केही बेर रोकिने ।
यो आसनले ढाडको हड्डीलाई बलियो बनाउनुका साथै छाती, गर्धनमा खुम्चिएर बसेका मांसपेशीलाई लचिलो बनाउछ । मस्तिष्कलाई तनावरहित बनाउनुका साथै पाचन क्रियालाई पनि राम्रो गर्छ ।
पादहस्तासन:
पाद भनेको खुट्टा हो भने हस्त भनेको हात । हातलाई खुट्टामा समाएर केही समय रहने आसनलाई नै पादहस्तासन भनिन्छ । यसका लागि सिधा उभिने । दुबै हातलाई बिस्तारै झुकाउदै पैतलालाई समाउने र केही बेर अडिने । यदी सकिन्छ भने निधारलाई घुडाँमा छुवाउने कोसिस पनि गर्न सकिन्छ ।
यो आसनले मृगौलालाई राम्ररी काम गर्ने बनाउनुका साथै ढाडको हड्डीको समस्या पनि समाधान गर्छ । मष्तिस्कलाई शान्त बनाउनुका साथै पाचन क्रियालाई पनि राम्रो गर्छ । महिलाहरुमा महिनावारीको समस्या छ भने यो आसनले फाइदा गर्छ ।
विरभद्रासन:
विरको अर्थ बहादुर भद्रको अर्थ ज्ञानि हो । यो आसन तिन प्रकारको भएपनि यहाँ तस्विरमा दिएको एउटा आसनले पनि धेरै फाइदा गर्छ । यसको लागि कुनै एउटा खुट्टालाई खुम्चाएर अगाडी लैजाने र अर्को खुट्टालाई सिधा राख्ने । दुबै हातलाई जोडेर दुबै हातको चोरी औंलालाई माथि उचालेर केही बेर स्थिर रहने ।
यो आसनले छातीलाई फराकिलो गर्नुका साथै । फोक्सो, काँध, गर्धन, पेटमा खुम्चिएर रहेको मांसपेशीलाई फराकिलो बनाउछ । कुम, पाखुरा र ढाडको मांसपेशीलाई बलियो बनाउन मद्धत गर्छ ।
शिर्षासन:
आसनहरुमध्ये यो आसनलाई सर्वोकृष्ठ आसन मानिन्छ । शिरको बलमा शरीरलाई ठाडो पार्ने हुनाले यसलाई शिर्षासन भनिएको हो । यो आसन एकै पटक गर्न सकिदैन । पहिला कुनै बाक्लो कपडा माथी शिरलाई राखेर भित्ताको सहयोगमा शरीरलाई ठाडो पर्ने प्रयास गर्नुपर्छ । यो कार्य गरेको केही साता पछि हावामा अडिने गर्ने प्रयास गर्नुपर्छ ।
यो आसनले मस्तिष्कलाई शान्त बनाउनुका साथै मस्तिष्कमा रक्त प्रवाह राम्रो गर्छ । यसले हात, खुट्टा र ढाडको हड्डिलाई बलियो बनाउछ । यसले फोक्सोको क्रियालाई पनि राम्रो बनाउछ साथै यसले पाचन क्रियालाई पनि राम्रो बनाउछ । महिलाहरुलाई मासिक धर्मको समस्या रहेमा पनि यसले फाइदा गराउछ ।
भुजंगासन:
भुजंगको अर्थ सर्प हो । यो आसनमा पनि शरीरलाई सर्पले फन फैलाएको जस्तो आसनमा शरीरलाई राख्नु पर्छ । यसका लागि शरीरलाई पेटको बलले सुताउने । हातलाई कम्मरको दायाँवायाँ राखेर हातको सहायतामा छातिको अघिल्लो भागलाई जतिसक्दो माथी उचाल्ने ।
यो आसनले ढाडको हड्डीलाई बलियो बनाउनुका साथै छाति, फोक्सो, काँध र पेटमा खुम्चिएर रहेको मांसपेशीहरुलाई तन्काउने काम गर्छ । यसले नितम्बलाई पनि राम्रो गर्नुका साथै पाचन क्रियालाई पनि बलियो बनाउछ । यो आसनले थकानलाई हटाउनुका साथै दमका रोगीहरुलाई पनि लाभदायक मानिन्छ ।
उष्ट्रासन:
उष्ट्राको अर्थ संस्कृतमा ऊट हुन्छ । ऊट जस्तो बन्ने आसन भएको कारणलाई यसलाई उष्ट्रासन भनिएको हो ।
यो आसन गर्दा घुँडाको बलले उभिने वा बज्रासनमा बसेर घुँडा भन्दा माथीको भागलाई सिधा बनाउने दुबै हातले दुबै समान दिशामा रहेको खुट्टाको कुर्कुच्चालाई समाउने र टाउकोलाई केही पछाडी उत्तानो पारेर रहने ।
यो आसनले ढाडको हड्डीलाई बलियो बनाउनुका साथै पाचन क्रियालाई राम्रो गराउनुका साथै प्रजनन अंगलाई पनि राम्रो गर्छ । यसले पेटमा संकुचन भएर बसेको मांसपेशीलाई तन्काउनुका साथै पाचनक्रियालाई पनि राम्रो गर्छ । ढाडलाई पछाडी फर्काउनु पर्ने हुनाले यसले ढाडको हड्डीलाई पनि राम्रो गर्नुका साथै ढाड दुख्ने समस्या पनि कम हुन्छ ।
ताडासन:
दुबै खुट्टालाई हल्का फट्टाएर उभिने । हातका औंलाहरुलाई एक अर्कामा लक गरेर तन्काउदैं शिर भन्दा माथी लैजाने । यसरी लैजाने क्रममा कुर्कुच्चालाई जमिनवाट माथी उठाएर पैतलाको बलमा केही बेर स्थि भएर अडिने ।
यो आसनले शरीरका सम्पूर्ण भागको रक्तसंचारलाई राम्रो गर्नुका साथै खुम्चिएर रहेका मांसपेशीहरुलाई तन्काउने काम गर्छ । यसले मानसिक सन्तुलन गर्नुका साथै पैतला, पिडुला र तिघ्राको मांसपेशीलाई बलियो बनाउछ । ढाडको हड्डीलाईलाई सिधा समेत पार्न मद्धत गर्छ । बालबालिकालाई यो आसन उचाई बढाउनका लागि उपयुक्त मानिन्छ ।































प्रतिक्रिया