चार महिनापछि लहान नगरपालिकाको बैंक खाता पुनः सञ्चालनमा

चार महिनापछि लहान नगरपालिकाको बैंक खाता पुनः सञ्चालनमा

केन्द्रबिन्दु
3
Shares

सिरहा। विगत चार महिनादेखि रोकिएको लहान नगरपालिकाको बैंक खाता बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। खाता खुलेसँगै रोकिएका तलब, सामाजिक सुरक्षा भत्ता तथा विकास निर्माणका भुक्तानी प्रक्रिया अघि बढ्ने भएको छ।

खाता रोकिँदा कर्मचारी र शिक्षकहरूले तलब पाउन सकेका थिएनन् भने विद्यालयका पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा कार्यक्रमसमेत प्रभावित भएका थिए।

नगरपालिकाको खाता रोकिनुको मुख्य कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विवाद रहेको बताइएको छ। सो विषयमा अदालतको आदेशपछि हालका लागि जयकान्त झा नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कायम रहने व्यवस्था भएपछि खाता सञ्चालनमा आएको हो।

खाता खुलेसँगै नगरपालिकाले रोकिएका सबै भुक्तानी प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ। प्रशासनिक अवरोध हटेसँगै सेवा प्रवाह र विकास गतिविधि पुनः नियमित हुने अपेक्षा गरिएको छ।

Logo