त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट ५ करोड ५६ लाख आम्दानी

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट ५ करोड ५६ लाख आम्दानी

केन्द्रबिन्दु
12
Shares

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट रु ५ करोड ५६ लाख ५० हजार आम्दानी भएको छ । पालिकाभरका किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट उक्त रकम भित्रिएको हो ।

कृषि शाखा प्रमुख ऐनबहादुर कार्कीका अनुसार यस वर्ष गाउँपालिकामा २ हजार ६५० घरधुरी किसानले अदुवा खेती गरेका थिए । कुल १५ हजार ९०० क्विन्टल अदुवा उत्पादन भएको छ ।

किसानहरूले गाउँमै प्रतिक्विन्टल औसत रु ३ हजार ५०० का दरले अदुवा बिक्री गरेका हुन् । व्यापारीहरू आफैं गाउँमै आएर खरिद गर्ने गरेकोले बिक्री सहज भएको बताइएको छ ।

कृषि शाखाका अनुसार प्रत्येक किसानले औसत दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् भने गाउँपालिकाभर करिब ५ हजार ३०० रोपनी जमिनमा अदुवा उत्पादन भइरहेको छ । एक रोपनीमा औसत तीन क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।

त्रिवेणी–४ खुम्चेरीका व्यावसायिक किसान नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट मात्रै करिब रु १ लाख आम्दानी भएको बताएका छन् । उनी विगत २२ वर्षदेखि अदुवा खेतीमा संलग्न छन् । यस वर्ष उत्पादनको केही हिस्सा बीउका लागि राखिएको उनले बताए ।

स्थानीय तहका अनुसार अदुवा खेती गाउँपालिकाको प्रमुख नगदेबालीका रूपमा विकसित हुँदै गएको छ, जसले हजारौँ किसानको आयआर्जनमा प्रत्यक्ष योगदान पुर्‍याइरहेको छ ।

Skip This
Skip This
Logo