नवीन सन्देश मासिककाे २० वर्षे यात्राः जिम्मेवार पत्रकारितामा जाेड

नवीन सन्देश मासिककाे २० वर्षे यात्राः जिम्मेवार पत्रकारितामा जाेड

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नवीन सन्देश मासिकले सफलतापूर्वक १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले पत्रिकाको योगदानको प्रशंसा गर्दै पत्रकारिताको जिम्मेवारी र व्यावसायिक वातावरणबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्।

कार्यक्रममा पूर्व सभासद् कान्तिका सेजुवालले २० वर्षसम्म पत्रिका निरन्तर सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण भएकाे उल्लेख गर्दै सम्पूर्ण टिमको मेहनत, समर्पण र दृढताले “सुन्दर गोरेटो” कोर्न सफल भएको बताइन्। उनले यतिका वर्षकाे निरन्तरता पत्रकारितामा उदाहरणीय रहेको धारणा राखिन्।

त्यसैगरी, मौरिससका महावाणिज्य दूत तथा इपानका अध्यक्ष गणेश कार्कीले २० औँ वर्षमा प्रवेश गरेको अवसरमा बधाई व्यक्त गर्दै पत्रकारिताको मूल मर्म जोगाउनुपर्नेमा जोड दिए। उनले समाचार लेखनमा केवल आकर्षक हेडलाइनमा मात्र केन्द्रित भई सामग्रीको सारलाई कमजोर बनाउने प्रवृत्ति गलत भएको उल्लेख गर्दै जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको आवश्यकता औंल्याए।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा सफल व्यवसायी दीपक मल्होत्राले नवीन सन्देश मासिक ले १९ वर्ष सफलतापूर्वक पूरा गरेकोमा खुशी व्यक्त गरे। उनले व्यवसायी तथा उद्यमीलाई सकारात्मक रूपमा प्रस्तुत गर्नु मिडियाको कर्तव्य भएको बताउँदै सरकार र समाजले उद्यमशीलतालाई हतोत्साही नभई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे। कार्यक्रममा मल्हाेत्राले नवीन सन्देश मासिकले विगत १९ वर्षदेखि निरन्तर रूपमा समाज, अर्थतन्त्र र समसामयिक विषयवस्तुमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र जिम्मेवार पत्रकारिता गर्ने विश्वास व्यक्त गरेका थिए।

यसैगरी, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारीले अहिलेको समयमा सूचना र समाचारको अत्यधिक बहावले आम नागरिक नै थिचिएको अवस्था रहेको उल्लेख गर्दै यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। उनले न्यू मिडियाको तीव्र विकासले छापा माध्यमलाई चुनौती दिइरहेको उल्लेख गर्दै समयअनुकूल रूपान्तरण अपरिहार्य रहेको धारणा राखिन्।

त्यस्तै, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य निमा काफ्लेले पत्रकारिता क्षेत्रमा विश्वसनीयता र आचारसंहिताको पालना सबैभन्दा महत्वपूर्ण विषय भएको बताइन्। उनले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषणमार्फत् मात्र मिडियाले समाजमा आफ्नो विश्वास कायम राख्न सक्ने उल्लेख गर्दै जिम्मेवार पत्रकारिताको अभ्यासलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्। विभिन्न आराेह र अवराेह पार गर्दै नवीन सन्देश मासिक यतिका वर्षसम्म प्रकाशन हुनु आफैमा प्रशंसनीय भएकाे धारणा राखिन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरि विनोद अधिकारीले नवीन सन्देश मासिकसँग सुरुवाती अवस्थादेखि नै आफू जोडिएको स्मरण गर्दै यतिका वर्षसम्म निरन्तर प्रकाशन हुन सफल हुनु आफैंमा एउटा ऐतिहासिक उपलब्धि भएको धारणा राखे। उनले पत्रिकाले समय–समयमा समाजका विविध पक्षलाई उजागर गर्दै आफ्नो छुट्टै पहिचान बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा इक्यानका निवर्तमान अध्यक्ष तथा शैक्षिक अभियन्ता शेषराज भट्टराईले नवीन सन्देश मासिकको यात्रालाई “रिमार्केबल” भन्दै प्रशंसा गरे। उनले बजारमा पत्रिकाले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै आगामी सयौं वर्षसम्म पनि यसैगरी सफलतापूर्वक अघि बढिरहोस् भन्ने शुभकामना व्यक्त गरे। साथै, नेपालमा पत्रकारिता क्षेत्रमा “म गर्न सक्छु” भन्ने आत्मविश्वास बोकेर अगाडि बढ्नु आफैंमा चुनौतीपूर्ण भएपनि दृढ इच्छाशक्ति र मेहनतले सफलता टाढा नरहेको कुरा नवीन सन्देशले प्रमाणित गरेको उनको धारणा थियो। उनले पत्रिकाले पत्रकारितामा एउटा मानक स्थापित गर्न सफल भएको पनि उल्लेख गरे ।

त्यसैगरी, सञ्चारिका समूह नेपालकी निवर्तमान अध्यक्ष बिमला तुम्खेवाले महिलाहरूले कुनैपनि क्षेत्रमा स्थायित्व र सफलता हासिल गर्न निरन्तर परिश्रम, धैर्यता र आत्मविश्वास आवश्यक पर्ने बताइन्। उनले दृढ संकल्पका साथ अघि बढेमा चुनौतीहरू पार गर्दै सफलता नजिकै आउने विश्वास व्यक्त गर्दै महिला नेतृत्वलाई अझ सशक्त र प्रभावकारी बनाउँदै अघि बढ्न प्रेरणा दिइन्।

कार्यक्रममा नेपाल प्रेस युनियनकी उपाध्यक्ष सलाेजा दाहालले नवीन सन्देश मासिक २० वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै महिलाहरूलाई पत्रकारिता क्षेत्रमा अगाडि बढ्न अझैपनि विभिन्न अप्ठ्यारा र चुनौतीहरू रहेको बताइन्। तर, उनले आँट, आत्मविश्वास र निरन्तरको मेहनतले ती सबै चुनौतीहरू पार गर्दै सफलताको बाटोमा अघि बढ्न सकिने विश्वास व्यक्त गरिन्।

त्यसैगरी, सञ्चारिका समूह नेपालकी महासचिव राधा खनालले आजको समयमा छापा माध्यम विभिन्न चुनौती र संकटका बीचबाट गुज्रिरहेको उल्लेख गर्दै नवीन सन्देश मासिक निरन्तर रूपमा प्रकाशित भइरहनु आफैंमा एउटा सशक्त सन्देश भएको धारणा राखिन्। उनले यस्तो निरन्तरता केवल प्रकाशन मात्र नभई समर्पण, दृढता र पत्रकारिताप्रतिको गहिरो प्रतिबद्धताको प्रतीक भएको बताइन्।

शिक्षा अभियन्ता डा.राप्रसाद दाहालले कार्यक्रममा नवीन सन्देश मासिक २० वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै भने, “दीर्घकालीन निरन्तरता, विश्वसनीयता र सत्यप्रतिको प्रतिबद्धताले मात्र मिडियालाई बलियो बनाउँछ। नवीन सन्देशले यस यात्रामा देखाएको समर्पण प्रशंसनीय छ। आगामी दिनमा अझ सशक्त, प्रभावकारी र जनउत्तरदायी पत्रकारितामार्फत नयाँ उचाइ हासिल गरोस् भन्ने मेरो शुभेच्छा छ।”

त्यसैगरी, रेडियो सगरमाथाकी स्टेशन म्यानेजर उर्वशी बस्न्यातले नवीन सन्देश मासिक २० वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै पत्रिका निरन्तर रूपमा अझ सशक्त र सफलतापूर्वक प्रकाशन भइरहोस् भन्ने कामना गरिन्। उनले महिला सम्पादकको नेतृत्वमा सञ्चालित पत्रिकाले समाजमा आफ्नो छुट्टै र सकारात्मक पहिचान बनाउन सफल हुनु अत्यन्त गर्वको विषय भएको उल्लेख गरिन्। साथै, महिलाहरूको मिडियामा स्थायित्व र सक्रियता बढ्दै जानु आफैंमा खुसीको विषय भएको बताउँदै यसले समावेशी पत्रकारितालाई अझ बलियो बनाउने धारणा व्यक्त गरिन्।

पत्रकार यादब देवकाेटाले नवीन सन्देश मासिक २० वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै भने, “निरन्तरता र विश्वसनीयता नै पत्रकारिताको सबैभन्दा ठूलो पूँजी हो। नवीन सन्देशले विगत १९ वर्षमा यही मूल्यलाई आत्मसात् गर्दै आफ्नो पहिचान स्थापित गरेको छ। आगामी दिनमा पनि सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजलाई मार्गदर्शन गर्दै अझ उचाइमा पुग्न सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।”

कार्यक्रममा व्यवसायी सानु बानियाँ राउतले नवीन सन्देश मासिक २० वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै पत्रिकाको निरन्तरता र सफल यात्राको प्रशंसा गरिन्। उनले महिलाहरूमा जस्तोसुकै कठिन परिस्थितिलाई पनि धैर्य, साहस र आत्मविश्वासका साथ सहज बनाउँदै अघि बढ्ने अद्भुत क्षमता हुने बताइन्। चुनौतीहरूलाई अवसरमा बदल्दै सफलता हासिल गर्ने यही विशेषताले महिलाहरूलाई हरेक क्षेत्रमा सशक्त बनाएको उनको भनाइ थियो।

कार्यक्रमको समापनमा नवीन सन्देश मासिककी सम्पादक कल्पना शर्माले १९ वर्षदेखि निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, शुभचिन्तक तथा सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद व्यक्त गरिन्। उनले भनिन्, “यो १९ वर्षको यात्रा सजिलो थिएन, तर तपाईँहरू सबैको साथ, माया र विश्वासले हामीलाई यहाँसम्म आइपुग्न सम्भव भएको हो। प्रत्येक शब्द, प्रत्येक अंक र प्रत्येक प्रयासमा हाम्रो टिमको समर्पण र तपाईँहरूको भरोसा जोडिएको छ।” शर्माले आगामी दिनमा अझ जिम्मेवार, तथ्यपरक र प्रभावकारी पत्रकारितामार्फत समाजप्रति आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको निरन्तर साथ र सहयोगको अपेक्षा राखिन्।

कार्यक्रम ममता नेपालले सम्पूर्ण कार्यक्रम अत्यन्तै शिष्ट, आकर्षक र मिठासपूर्ण शैलीमा कुशलतापूर्वक सञ्चालन गरिन्। उनले सहज प्रस्तुति, स्पष्ट अभिव्यक्ति र आत्मविश्वासी सञ्चालनमार्फत कार्यक्रमलाई थप व्यवस्थित र प्रभावशाली बनाउँदै सबैको ध्यान आकर्षित गर्न सफल भइन्।

कार्यक्रममा नेपाल प्रेस युनियनकी उप महासचिव दिलीपाश्री अधिकारी ,नेपाल प्रेस युनियनका सचिव भुवन शर्मा, नेपाल पत्रकार महासंघका पूर्व काेषाध्यक्ष कलेन्द्र सेजुवाल,पत्रकार गाेपाल दाहाल, हाम्राे राष्ट्रका राेजी ढकाल पराजुली, नेपाल पत्रकार महासंघकी पूर्व सचिव सिर्जना अर्याल, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका उपाध्यक्ष रमा न्याैपाने, सञ्चारिका समूह नेपालका केन्द्रीय सदस्यहरु सम्झना बन, तारा चापागाँइ, दीपा रेग्मी, मुलुक टाइम्सका संजीव सिंह, रमेश लुइँटेल, पत्रकारहरु यामु कँडेल, विष्णु बेल्वासे, लेखक तिलप्रसाद न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Skip This
Skip This
Logo