योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘बोकेदाह्री’ लोकार्पण

योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘बोकेदाह्री’ लोकार्पण

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । साहित्यकार योगेन्द्र तिमिल्सिनाको नयाँ लघुकथासङ्ग्रह ‘बोकेदाह्री’ को लोकार्पण सम्पन्न भएको छ । राजधानीको पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेण्टमा आयोजित एक विशेष समारोहका बिच उक्त कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा कृतिको समीक्षा गर्दै प्रा.डा. भरतप्रसाद भट्टराईले सङ्ग्रहमा समेटिएका चालीस लघुकथाहरूको प्रवृत्तिगत विश्लेषण गरे । उनले ‘बोकेदाह्री’ भित्र मानवीय समवेदना, समकालीन राजनीतिप्रतिको तिखो व्यङ्ग्य, अन्धविश्वास तथा सामाजिक र सांस्कृतिक विचलनका विषयहरू सशक्त रूपमा उठान गरिएको बताए । विशेषगरी ‘मुसाको इजलास’, ‘मान्छे’, ‘नाठो’ र ‘आश्वासन’ जस्ता लघुकथाहरूमा स्वैरकल्पनाको सुन्दर प्रयोग गरी कथाकारले उत्कृष्ट शिल्प प्रदर्शन गरेको उनको भनाइ थियो ।

अर्का समीक्षक महेश प्रसाईंले कथाकार तिमिल्सिनाको २०२८ सालदेखिको लामो साहित्यिक र सम्पादकीय यात्राको चर्चा गर्दै यो कृतिले नेपाली साहित्यमा राम्रो मूल्य राख्ने विश्वास व्यक्त गरे । त्यस्तै, विशेष अतिथि एवं लघुकथाकार ध्रुव मधिकर्मीले तिमिल्सिनाको कथा लेखनको पृष्ठभूमिबारे चर्चा गर्दै सङ्ग्रहका केही कथाहरूको विशेष चर्चा गरे । लघुकथा समाजका सचिव तथा मधुपर्क मासिकका सम्पादक तुलसीहरि कोइरालाले लघुकथाको ऐतिहासिकता र वर्तमानमा यसको बढ्दो लोकप्रियतामाथि प्रकाश पारे ।

लोकार्पण समारोहमा लेखक योगेन्द्र तिमिल्सिनाले २०२८ सालमा प्रकाशित आफ्नो चर्चित लघुकथा ‘मान्छे’ वाचन गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा साहित्यकारहरू रासा, भीष्म उप्रेती, विमल भौकाजी, सुधा भट्टराई, जसध्वज गुरुङ, गङ्गाप्रसाद भेटवाल, त्रिचन्द्र श्रेष्ठ, आनन्द पौड्याल, प्रवीण जोशी, कृष्ण न्यौपाने, हेमन्त गौतम र सञ्जय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ओरिएण्टल पब्लिकेशनका श्रीहरि गौतमले सञ्चालन गरेकाे उक्त कार्यक्रमको अन्त्यमा सभापति डा. तुलसी भट्टराईले कथाकारलाई साहित्यिक कर्ममा अझ ऊर्जाशील भएर लाग्न शुभकामना दिँदै कार्यक्रम समापन गरेका थिए ।

Logo