न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

न्यानोको खोजीमा अशक्त किशोरी आसामा खातुन

केन्द्रबिन्दु
0
Shares

महोत्तरी, ४ माघ 

घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका–१० की १३ वर्षीया आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन् । 

शारीरिकरुपले अपाङ्ग रहेकी आसामा जसोतसो बाटोको पेटीमा ज्यान जोगाउन आगो बालेको स्थानमा देखा पर्छिन् । आर्थिक अवस्था अत्यन्तै दयनीय रहेकाले पातलो मैलो कपडा लगाएर एक महिनादेखि जारी रहेको बाक्लो हुस्सु र शीतलहरले प्रभावित रहेको समयमा आसामा काम्दै सडकको पेटीमा आउँछिन् । 

शारीरिक रुपले अपाङ्ग मुस्लिम किशोरी आसामा सरकारी सुविधाबाट वञ्चित छिन् । जन्मजात अपाङ्ग रहेकी आसामाको परिवारजनले अहिलेसम्म अपाङ्ग परिचयपत्र बनाउन सकेको छैन । 

गाउँमा सिंहदरबार ल्याउने सपना देखाएर भोट लिएर गएका जनप्रतिनिधिहरुले अहिलेसम्म पनि अपाङ्ग परिचयपत्र बनाउनका लागि सहयोग नगरेको आसामाकी आमाले गुनासो गरिन् । जलेश्वरमा लगेर अपाङ्ग परिचयपत्र बनाएर ल्याउने भनेर स्थानीयतहमा कार्यरत कर्मचारीहरुले टार्दै आएको तर सो सम्भव नभएको उनकी आमाले बताइन् । 

यस सम्बन्धमा गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेष मोहम्मद जलिलले आफूले वर्तमान समयमा आसामा जस्ता अपाङ्गको हकहितमा सोचेर पनि गर्न नसकेको स्वीकार गर्नुभयो । 

एकसय दिनको अवधिमा कार्यालय व्यवस्थापन हुन नसकेका कारण राहत वितरणमा ढिलो भएको वडाध्यक्ष जलिलले बताउनुभयो । गाउँमै सिंहदरबार ल्याउने सपना देखाएर चुनाव जितेका नेता तथा कार्यकर्ताको समयमा ध्यान जान नसक्दा यस क्षेत्रका हजारौँ गरिब, दलित एवम् अपाङ्गहरु राहतको पर्खाइमा रहेका छन् । रासस

Skip This
Skip This
Logo