राँझा । बाँकेमा आँप फल्ने मुख्य समयमा मधुवा (फड्केकीरा) को समस्या देखिँदा किसान चिन्तित बनेका छन्।
जानकी गाउँपालिका–१ का किसान अब्दुल वाजिद साईका अनुसार फूल फुल्ने समयमै कीराले आक्रमण गर्दा फूल नै नष्ट भएको छ, जसका कारण यस वर्ष आँप उत्पादन घट्ने सम्भावना बढेको छ।
कृषि ज्ञान केन्द्र बाँकेले किसानलाई परामर्श र विषादी सिफारिस गर्दै आएको छ। कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार कीराको नियन्त्रणका लागि फूल लाग्नुअघि नै विषादी प्रयोग गर्नु प्रभावकारी हुन्छ। ढिलो गर्दा फूलमा क्षति भइसकेको हुन्छ।
उनका अनुसार समयमै नियन्त्रण गर्न नसके जिल्लाभर आँप उत्पादनमा ठूलो गिरावट आउन सक्छ। गत वर्ष जिल्लामा १,०१५ हेक्टर क्षेत्रफलमा ९,९१५ मेट्रिक टन आँप उत्पादन भएको थियो, तर यस वर्ष त्यति उत्पादन हुने सम्भावना कम देखिएको छ।
मधुवा कीरा समूहमा उड्ने र छिटो फैलिने प्रकृतिको हुन्छ। यसले आँपको फूल र कलिलो भागको रस चुस्दा फूल ओइलाउने र फल नलाग्दै झर्ने समस्या हुन्छ। साथै, कीराले छोड्ने पदार्थका कारण फूलमा कालो ढुसी लागेर थप क्षति पुग्ने गरेको छ।
कृषि ज्ञान केन्द्रले प्रभावित किसानलाई प्राविधिक सल्लाह लिन र सिफारिस गरिएको विषादी सही मात्रामा प्रयोग गर्न आग्रह गरेको छ।































प्रतिक्रिया